हेटौंडा : करौडौंको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौंडाका केही कुखुरा व्यवसायीका हजारौं कुखुरा मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौंडा–७ मा १० हजार बढी कुखुरा मरेका छन् । भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लुको हल्ला फैलिएपछि अन्य किसान पनि चिन्तित भएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौं कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि जिल्लाभरका अन्य किसान पनि बर्डफ्लुको हल्लाले थप चिन्तित बनेका छन् । मकवानपुर कुखुरा व्यवसायी सङ्घले मङ्गलबार पत्रकार सम्मेलन गरी बर्डफ्लुको हल्ला निराधार भएको जनाएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीले बर्डफ्लु रोग नेपालमै नभएको र हेटौंडाका कुखुरामा बर्डफ्लुको कुनै पनि लक्षण नदेखिएको बताए ।
अधिकारीले आफूहरू मानव स्वास्थ्यप्रति गम्भीर भएकाले सरकारी प्रयोगशालाको परीक्षणमा बर्डफ्लु प्रमाणित भए कुखुरा आफैं नष्ट गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । ‘मरेका कुखुरा एकैदिनको रोगले मरेको पाइएको छ, त्यस्तो गभारो तथा रानीखेत नाम गरेका रोगले मात्र हुन्छ । हामीलाई थाहा भएअनुसार ती कुखुरा रानीखेत नामक रोगका कारण मरेको हुन सक्छ,’ उनले भने ।
अध्यक्ष अधिकारीले मकवानपुरमा कुखुरा व्यवसायीले ५ अर्ब लगानी गरेको र सञ्चारमाध्यममा गलत कुरा प्रकाशन वा प्रसारण भएमा कुखुरापालन क्षेत्रमा गम्भीर समस्या निम्तिन सक्ने भन्दै सञ्चारमाध्यमलाई सत्य तथ्य समाचार सङ्कलनका लागि अनुरोध गरे ।
त्यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञको कार्यालयले पनि कुखुरामा देखिएको रोग बर्डफ्लु नभएको जनाएको छ । ‘एचनाइन एन टु भाइरस’ नामक प्रकोपले कुखुराहरू मरेको केन्द्रका प्रमुख डा. चेतनारायण खरेलले जानकारी दिए । ‘हामीले सङ्क्रमण पत्तालगाई सक्यौं र त्यसको निदान पनि लगभग भइसकेको छ,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५