हेटौडा : दोस्रो संस्करणको सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रयोजन भूगर्भ सिमेन्टले गरेको छ । आज मकवानपुर जिल्ला फुटबल संघले दोस्रो संस्करणको मकवानपुर गोल्डकपको लागि भूगर्भ सिमेन्टसँग एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौतामा हस्ताक्षर गरेका छन्। मकवानपुर जिल्लाका अध्यक्ष टीकाराम लामा र भूगर्भ सिमेन्टका अध्यक्ष पिताम्वर गैरेले हस्ताक्षर गरेको सम्ताझौता अनुसार भूगर्भ सिमेन्टले प्रतियोगिताका लागि १० लाख रूपैया उपलब्ध गराउने छ । यससँगै प्रतियोगिताको नाम भूगर्भ सहिद स्मृति मकवानपुर गोल्डकप रहने छ ।
सम्झौतापछि भूगर्भका अध्यक्ष पिताम्वर गैरेले सामाजिक दायित्वका रुपमा फुटबलसँग जोडिन पाएको खुशी व्यक्त गर्दै आगमी वर्षहरुमा प्रतियोगितालाई साथ दिन प्रतिवद्धता रहेको बताए। प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ८ लाख रूपैया हात पार्नेछन् । दोस्रो हुनेले ४ लाख रूपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५० हजार रूपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधाका विजेताले जनही २०–२० हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले १० हजार रूपैयाँ पाउनेछ । प्रतियोगिता २९ फागुनबाट ९ चैतसम्म हेटौडा वनविज्ञान प्रतिष्ठानको खेल मैदानमा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५