आजकल पहिलेको तुलनामा धेरै फिल्म बन्छन् तर बेरोजगारका विषयमा कमै फिल्म बन्छन् । जबक सिने उद्योगमै ठूलो बेरोजगारी छ । निरन्तर विकसित प्रविधिले बेरोजगारी बढाएको छ । सबैभन्दा ठूलो त्रास गीत–संगीतको ध्वनि मुद्रण क्षेत्रमा देखिएको छ ।
कुनै समय अग्रज वाद्यवादकहरूका सन्तानले आफ्ना पुर्खाको विरासत थाम्ने गरेका थिए तर कम्प्युटर जडित ध्वनिका कारण वाद्यवादकहरुको रोजीरोटी गुमेको छ । अब पहिले जस्तो वाद्ययन्त्र उपलब्ध छैनन् । जल तरङ्ग अदृश्य जस्तै भइसकेको छ ।
जब सापुरजी पालनजीले सन् १९६० को सुपरहिट ब्ल्याक एन्ड ह्वाइट फिल्म ‘मुगल ए आजम’लाई सन् २००४ मा रङ्गीन बनाउने निर्णय लिए, तब सङ्गीतकार नौशादले सङ्गीत स्टेरियोफोनिकमा ध्वनिबद्ध गर्ने वादक भेटेनन्, जसले फिल्म निर्माणको समय सङ्गीत दिएका थिए, उनीहरूले सन्तानलाई प्रशिक्षण दिएकै रहेनछन् । पक्कै पनि आफ्ना सन्तान आफू जस्तै बेरोजगार बनेको हेर्न मन थिएन ।
एआर रहमान चेन्नईस्थित स्टुडियोमा गीत रेकर्ड गर्ने समयमा महसुस गर्छन् कि उनलाई ध्वनिका लागि दक्षिण अफ्रिकामा बजाइने ड्रम आवश्यक छ । त्यसपछि उनले दक्षिण अफ्रिकी सङ्गीतकारलाई फोनमार्फत् आफ्ना कुरा राख्छन् । जोहानसवर्गमा ड्रम बज्छ । त्यसलाई टेक्नोलोजीको सहायताले चेन्नईमा ध्वनिबद्ध गरिन्छ ।
यसरी नै गीतहरू तयार हुन्छन् र बजारमा भाइरलसरी फैलन्छन् । सङ्गीतको स्वर्णकालमा कुनै एक ठूलो हलमा लगभग ४० जनाले भ्वाइलिन बजाउँथे, त्यति नै संख्यामा ढोलक बजाउनेहरू हुन्थे । अर्को कक्षमा गायक वा गायिकाले गाउँथे । अहिले दश वाई दशको कोठामा नै कम्प्युटर जडित ध्वनिको सहायताले गीत रचना हुन्छ । कम्पोजरले इलेक्ट्रिसियन जसरी तारसँग खेल्छ । आज सङ्गीतकारलाई कम्प्युटर विज्ञानको जानकारी हुन आवश्यक छ ।
कम्प्युटर जडित ध्वनीहरूमध्येबाट आफ्नो रोजाइको ध्वनि छान्ने स्वतन्त्रता छ र विविधता पनि उपलब्ध छ । तर मौलिक सिर्जनालाई हतोत्साहित गर्ने काम भइरहेको छ ।
संगीत बजारको एक मालिकले सयौँ गीत ध्वनिबद्ध गरेर राखेको हुन्छ । ऊसँग सङ्गीतको गोदाम छ । उसले फिल्ममेकरसँग सङ्गीत बिक्रीको सम्झौतामा फिल्ममेकरले उसकै गोदामबाट गीत चुन्नुपर्ने लेखेको हुन्छ । उसले जानेको हुन्छ कि फिल्ममा प्रेम गीत, विरह गीत, वैवाहिक समारोहमा बजाइने गीतलगायतका सम्बन्धित गीतको आवश्यकता पर्छ । यसका साथै यदि फिल्ममेकरलाई दुई फरक गीतका केही अंश मनप¥यो भने प्रविधिको सहायताले ती दुई अंशलाई जोडेर एउटै गीत तयार गरिदिने काम पनि हुन्छ ।
केही सङ्गीतकारले सर्वकालीन महान् गायक/गायिकाले गाएका गीतको अंश लिएर त्यस्ता गीत बनाइदिन्छन्, जुन ती गायक/गायिकाले कहिल्यै गाएका हुँदैनन् । पुराना फिल्मी गीतका लागि रेकर्ड गरिएको पाश्र्व सङ्गीतको पनि एक गोदाम छ । आज हामी केही त्यस्ता फिल्मी गीत सुन्दै छौँ, जसमा फरक चार सङ्गीतकारले ध्वनिबद्ध गरेका पाश्र्व सङ्गीत समावेश छ । यसरी एकल प्रतिभाको यो क्षेत्र अहिले भीडको नियन्त्रणमा चलिरहेको छ । सिर्जनशील क्षेत्रमा देखिएको यो बेरोजगारीलाई अन्य क्षेत्रसँग दाँज्न मिल्दैन, किनकि अन्य क्षेत्रको बेरोजगारी प्रविधि जडित होइन, आर्थिक नीतिको परिणाम हो ।
सङ्गीत जगतमा ‘घराना’ हुन्छन् र एकै घरानाका दुई व्यक्तिले एकअर्काविरुद्ध कुनै प्रतिस्पर्धामा भाग लिँदैनन् । सङ्गीत घराना सिमानाका दुई किनारमा उभिएका हुन्छन् र पनि उनीहरूमा कुनै विभाजन हुँदैन । त्यसैले यो क्षेत्र राजनीतिक फैसलाबाट प्रभावित भएको छैन ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५