रोल्पा : फागुन १० देखि रोल्पा सदरमुकाम लिवाङमा सुरु भएको राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगितामा रोल्पा कलाकार समाज काठमाडौंले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान दाङ द्वितीय भएको छ । यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रोल्पा र उपत्यका समन्वय समितिले प्रतियोगिताको तृतीय स्थान हासिल गरेका छन् । महिलातर्फ बजार समूह रोल्पाका एलिना बुढा र पुरुषतर्फ प्यूठानका टेकेन्द्र जिएम उत्कृष्ट भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः नगद १ लाख, ५० हजार, ३० हजार र २० पुरस्कार मेडल र प्रतियोगिताको उत्कृष्ट १ पुरुष र १ महिला कलाकारलाई जनही ५ हजार नगदको व्यवस्था गरिएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा रोल्पाका अध्यक्ष मिलन रोकामगरले जानकारी दिए ।
प्रतियोगितामा जिल्लाभित्र र बाहिर गरी १३ समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा काठमाडौंका ४ समूह, प्यूठान र दाङको १/१ समूह र रोल्पाका विभिन्न स्थानीय तहका ७ समूहले सहभागिता जनाएको आयोजकले बताएको छ ।
बाह्य संस्कृतिको प्रभावले हराउँदै गएको लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रोल्पाका संस्कृतिप्रेमी युवाले राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगिता आयोजना गरेका थिए । कला संस्कृतिमा अब्बल रोल्पालाई मूल प्रवाहमा समावेश गर्दै नयाँ प्रतिभाको खोजी गर्नसमेत प्रतियोगिताले सहयोग गर्ने आयोजकको अपेक्षा रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५