वीरगञ्ज : धान खरिद सम्बन्धमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको नेपाल खाद्य संस्थान वीरगञ्जले भने लक्ष्य प्राप्त गर्न सफल भएको छ । वीरगञ्जले चालू आव २०७५/७६ मा ६ करोड ४ लाख ७९ हजार १०० मूल्यबराबरको २४ हजार ५८४ क्विन्टल धान खरिद गरी लक्ष्य प्राप्त गरेको हो ।
सङ्घीय सरकारले यस वर्ष २५ हजार क्विन्टल मध्यम खालको सोना मन्सुली धान खरिद गर्न लक्ष्य दिएकोमा सो शाखाले २४ हजार ५८५ क्विन्टल धान खरिद गरी करिब शतप्रतिशत लक्ष्य प्राप्त गर्न सफल भएको छ । सङ्घीय सरकारले धान खरिद गर्ने समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४६० तोकेकोमा संस्थानले नगदमै धान किन्न थालेपछि सो लक्ष्य प्राप्त भएको शाखा प्रमुख अम्बिकाप्रसाद घिमिरेले बताए ।
यसैगरी संस्थानको अघिल्लो आव २०७४/७५ मा ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा ८० करोड ५५ लाख मूल्यबराबरको ३० हजार क्विन्टल सोना मन्सुली र जिरा मन्सुली धान खरिद गरी लक्ष्य प्राप्त गरेको थियो । उक्त खरिद गरिएको धानमध्ये सोना मन्सुली धान २० हजार क्विन्टल र जिरा मन्सुली धान १० हजार क्विन्टल खरिद गरिएको थियो ।
अहिले संस्थानसँग ६९० क्विन्टल जापानी चामलसहित ११ हजार २२९ क्विन्टल चामल मौज्दात रहेको छ । जसमध्ये सबै जापानी चामल संस्थानले केन्द्रको निर्णयअनुसार विराटनगर पठाउने तयारीमा रहेको छ । संस्थानले धान खरिद गरी उत्पादन गरेको चामल पर्सा, मकवानपुर, रौतहट तथा भरतपुर कारागारले माग गरेअनुसार पठाउने गरेको छ । संस्थानसँग रहेको ५ गोदाममा अहिले ५० हजार क्विन्टल धान, चामल भण्डारण गरिएको छ ।
लक्ष्यअनुसारको धान खरिद गरिसकेको संस्थानले अहिले धान खरिद गर्न बन्द गरेपछि निजी क्षेत्रका व्यापारीले मनोमानी ढङ्गबाट धान खरिद गर्ने गरेकाले किसान मर्कामा परेका छन् । सुरुमा संस्थानले सरकारी समर्थन मूल्यमा नगदमै किसानसँग धान खरिद गर्न थालेपछि किसान अत्यधिक लाभान्वित भएका थिए तर संस्थानले धान खरिद गर्न बन्द गरेपछि निजी क्षेत्रका गल्ला व्यापारीले मनोमानी ढङ्गले धान खरिद गर्ने गरेकाले किसान मर्कामा परेको उनीहरूको गुनासो छ ।
पर्सा जिल्लामा यस वर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरी २ लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५