काठमाडौं : भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले मेयर रेणु दाहालमाथी १२ आरोप लगाएकी छन् । जसमा आर्थीक अनियमितता भएको देखि सेवाग्राहीलाई मुस्कानसहितको सेवा नदिएकोसम्म छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले मेयर दाहालमाथी यस्तो आरोप लगाएकी हुन् ।
पत्रकार सम्मेलनमा उनले मेयर दाहालले गरेको अनियमितताबारे कुरा उठाउँदा आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै अझै आफु असुरक्षित नै रहेको बताइन् ।उपप्रमुख ठकुरीले आफुलाई ज्यान मार्ने धम्की आएको बताउँदा मेयर रेणु दाहालले चासो नदिएकोमा दुखेसो पनि पोखिन् । उनले विगतमा दाहाललाई जिताएकोमा अहिले गलत महसुस भएको बताइन् । ‘स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी र कांग्रेसबीच चुनावी गठबन्धन बनेको थियो। दुबै महिला महानगरको नेतृत्वमा आउँदा धेरै विकास निर्माणका काम गर्न सकिन्छ भन्ने लागेको थियो। तर, अहिले आएर रेणुले एकलौटीरुपमा पेलेर अघि बढ्न थालेकी छिन्,’ उपप्रमुख शाहले भनिन्, ‘अहिले उनलाई जिताएर कांग्रेसले आफ्नै खुट्टामा आफैं बन्चरो हानेको महसुस भएको छ। मेरो ज्यान अझै सुरक्षित छैन ।’
स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादीबिच गठबन्धन भएको थियो । एउटै गठबन्धन्धनबाट निर्वाचित भएपनि अहिले दाहाल र शाहबिच सम्बन्ध चिसिएको छ ।
पत्रकार सम्मेलनमा उपप्रमसुख शाहले दाहालमाथि ठूलो आर्थिक अनियमितता गरेको आरोप समेत लगाइन् । उनले मेयर दाहालले लेखा समिति गठन नगरी आर्थिक अनियमितता गरेको आरोप लगाएकी हुन्। उनले मेयर दाहालले विचार र आस्थाका आधारमा कर्मचारीलाई समेत दुःख दिने र धम्की दिने गरेको गुनासो गरिन् ।
शाहले सबै काम मेयरले गर्ने हो भन्दै आफूलाई भूमिका बिहीन बनाएको बताइन् । ‘म मेयर हो। त्यसैले सबै काम मैले नै गर्ने हो अरुको काम छैन भन्दै रेणुजी अघि बढ्नु भएको छ,’ उनले भनिन्, ‘यस्तो कार्यशैलीमा अघि बढेर ठूलो आर्थिक हिनामिना भएको छ।’
उनले राति ९ बजे सरकारी गाडी मुग्लिन पारी पुर्याएर आबुँ खैरेनी नजिक नदीमा खसालिएको र अहिलेसम्म गाडी कहाँ छ भनेर थाहा नभएको बताइन्। ‘राति ९ बजे महानगरबाट गाडी किन र के प्रायोजनले निकालिएको हो र किन गाडी नदीमा खसालिएको हो। अहिले त्यो गाडी किन झिकिएको छैन,’उनले भनिन्,‘गाडी दुर्घटनाग्रस्त भएको भनेर ठूलो आर्थिक अनियमितता गरिएको छ।’
दाहालमाथी उनले लेखा समिति गठन नगरि अनियमितता बढेको,जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समितिहरु एकलौटी गठन गरिएको, आस्था र विलचारका आधारमा कर्मचारीलाई दुख दिइएको, मुस्कानसहितको सेवा दिनुपर्नेमा नदिइएको, महानगरलाई राजनीतिक थलो बनाउन खोजेको लगायतका आरोप लगाएकी छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५