भक्तपुर : सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएको छ ।
आगामी चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी प्याराग्लाइडिङको उडान भर्ने गरी पर्यटन मन्त्रालयसँग स्वीकृति लिई उडान भर्ने तयारी गरेको गुण्डु इन्टरनेसनल प्याराग्लाइडिङका अध्यक्ष निर्भयबाबु प्रसाईंले जानकारी दिए । सूर्यविनायकलाई पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा प्याराग्लाइडिङको उडान सञ्चालन हुने भएको हो ।
अध्यक्ष प्रसाईले भन्नुभयो, ‘भक्तपुरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ प्याराग्लाइडिङ सुरु गर्न सांसद बस्नेतले हामीलाई आग्रह गर्नुभयो, उनले रानीकोटबाट उडाएर गुण्डुमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान भर्न सक्ने सुझाव दिएपछि हामीले लगानी गर्यौं, कानुनी प्रक्रिया पूरा गरेर चैत पहिलो सातासम्म प्याराग्लाइडिङको उडान सुरु गर्नेछौं ।’
प्याराग्लाइडिङ सञ्चालनका लागि करिब ३ करोडको लगानी रहेको बताउँदै उनले गत शनिबार रानीकोटबाट परीक्षणका रूपमा ८ प्याराग्लाइडिङको उडान सफलतापूर्वक गुण्डुमा अवतरण गरिएकाले अब चैतदेखि नै उडान सुरु गर्ने गरी तयारी गरेको उनको भनाइ छ । सूर्यविनायक–८ को पर्यटकीयस्थल रानीकोटबाट उडाएर वडा नं. ७ गुण्डु वडाकार्यालय नजिकै अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । यसका लागि गुण्डुमा १५ रोपनी जग्गा भाडामा लिएको प्रसाईंले बताए । ‘७ प्याराग्लाइडिङबाट दैनिक ४० उडान भर्ने गरी तयारी गरिएको छ,’ उनले भने ।
उनले भने, ‘रानीकोटबाट उडेको प्याराग्लाइडिङ गुण्डुमा अवतरण गराउनेछौं, आकाशमा ३० देखि ५० मिनेटसम्म उड्ने गरी व्यवस्थापन गरेका छौं, यसको माग बढेमा थप गर्दै लैजानेछौं ।’ प्याराग्लाइडिङबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य, काँठक्षेत्रका मनोरम दृश्य, हिमालका दृश्यावलोकन गर्न सकिन्छ भने पाइलटबाबा आश्रम, डोलेश्वर, अनन्तलिङ्गेश्वर मन्दिर, निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय चिडियाखानालगायतलाई नजिकबाट नियाल्न सकिन्छ ।
प्याराग्लाइडिङको सफल उडानसँगै घोडा दौड, साइकलिङमार्फत पर्यटकलाई आकर्षित पार्ने विभिन्न मनोरञ्जनात्मक खेल सञ्चालनमा ल्याउने तयारी छ । सांसद बस्नेतले भक्तपुरमा पर्यटनको विकास गर्न र सरकारले ल्याएको पर्यटन वर्ष २०२० सफल पार्न प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन आफूले पहल गरेको बताए । उनले सूर्यविनायक नगरपालिका क्षेत्रमा प्रशस्त पर्यटकीय आकर्षणका गन्तव्य रहेकाले ती क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन प्याराग्लाइडिङले महत्त्वपूर्ण सहयोग पुर्याउने बताए । ‘रानीकोट र अनन्तलिङ्गेश्वर मन्दिरको डाँडामा भ्युटावर बन्दै छ, यहाँ घरबासदेखि धार्मिक पर्यटकीय क्षेत्रका रूपमा समेत विकास गर्ने गरी अवधारणा र योजना अघि बढाएका छौं, सूर्यविनायकलाई पर्यटकको आकर्षक गन्तव्यको केन्द्र बनाउँदै छौं ।’
सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले नगरक्षेत्रलाई पूर्वाधार विकास र पर्यटन विकासको वर्षका रूपमा अघि बढाइएको बताए । उनले नागरिकको आर्थिक अवस्था उकास्ने गरी पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले काम थालेको बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५