भरतपुर : भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अन्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अन्डा नष्ट गरिएको हो ।
सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अन्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अन्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । विशेष सूचनाका आधारमा अवैध अन्डा ल्याएको भेटेपछि अन्डा नष्ट गरिएको उनले बताए । दुवै ह्याचरीबाट अन्डा उत्पादनका लागि ह्याचरसेटमा राखिएकै अवस्थाबाट निकालेर अन्डा नष्ट गरिएको हो ।
ह्याचरी उद्योग सङ्घका केन्द्रीय र जिल्ला पदाधिकारीको टोली र क्वारेन्टाइनका चिकित्सकको टोलीले उद्योगमै पुगेर अन्डा नष्ट गरेका हुन् । आज मिलन ह्याचरीले अवैध रूपमा ल्याएको १० हजार अन्डा पशुविज्ञ केन्द्रमा नष्ट गर्ने तयारी गरिएको पौडेलले बताए । अन्डासहितको गाडी उद्योगीले नियन्त्रणमा लिई पशुविज्ञ केन्द्रमा बुझाएका हुन् । । यी ह्याचरीले यसअघि पनि पटक–पटक भारतबाट अवैध रूपमा अन्डा ल्याउने गरेका थिए ।
ह्याचरी उद्योगलाई धरासायी बनाउन भारतबाट बर्डफ्लु लागेको अन्डा अवैध रूपमा भित्र्याइएको पौडेलले बताए । रोगको प्रकोप फैलाउन अन्डाको अवैध कारोबार बढेको उनको भनाइ छ । नेपालमा भएका २१५ ह्याचरी उद्योगमध्ये चितवनमा मात्रै सयभन्दा बढी छन् । प्रतिसाता ३० हजार बोइलर चल्ला र ३ लाख लेयर्स चल्ला उत्पादन हुने गरेको नेपाल ह्याचरी उद्योग सङ्घले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५