गलकोट : हात्तीपाइले रोग निवारण गर्ने तयारीमा रहेको बागलुङमा यस वर्ष पनि १०औं चरणको हात्तीपाइलेविरुद्वको औषधि सेवन अभियानको तयारी थालिएको छ ।
यही १५ गतेदेखि १०औं चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ । १०औं चरणमा सो औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउने भएका छन् । गत वर्षदेखि जिल्लामा हात्तीपाइले रोग निवारण गर्ने भनिए पनि यस वर्ष जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा ३१० को नमुना परीक्षण गर्दा हात्तीपाइलेको जीवाणु नपाइए पनि बागलुङ नगरपालिका–१४ नारायणस्थानमा ३१० को नमुना परीक्षण गर्दा १४ जना हात्तीपाइलेको संक्रमण भएका व्यक्ति फेला परेका थिए । सङ्क्रमित भेटिएपछि हात्तीपाइलेविरुद्धको औषधि खुवाउनुपरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए ।
‘जिल्लामा अझै पनि हात्तीपाइले रोगको जोखिम छ,’ उनले भने । हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो रकम खर्च हुने गर्छ । देशभरका ६१ जिल्लामा थालिएको अभियान अझै १५ जिल्लामा जारी छ । गण्डकी प्रदेशमा बागलुङसहित पर्वत र लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सुरु हुँदै छ । हात्तीपाइलेका जीवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्ताङ्ग सुन्निने तथा हात्तीको जस्ता पाइला हुन्छन् । लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै तिवारीले भने, ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु हुँदैन भनेर प्रचार-प्रसार गर्नु आवश्यक छ ।’
नडराइ औषधि सेवन गर्न जनस्वास्थ्यले आग्रह गरेको छ । सरकारले सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको सङ्ख्या कम हुँदै गएको छ । तिवारीका अनुसार २ वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी, थला परेका बिरामी र ७० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई औषधि सेवन नगर्न कार्यालयले अनुरोध गरेको छ । यस वर्ष जिल्लाका ८५ वटै वडाका ३ लाख ५२ हजार व्यक्तिलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइलेविरुद्धको औषौधि खुवाइने अभियानमा जिल्लाभर झन्डै ४ सय स्वास्थ्यकर्मीको संलग्नता रहनेछ । लामखुट्टेको जीवाणु लामो समयसम्म बाँच्न सक्ने भएकाले हात्तीपाइलेका रोगी घटाउन औषधिको साथै सरसफाइमा ध्यान दिई झुल टाँगेर सुत्न स्वस्थ्यकर्मीले सल्लाह दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५