सल्यान ः कपुरकोट गाउँपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले बेहोर्नेगरी वितरण गरिएको कपुरकोट गाउँपालिका कृषि शाखाले जनाएको छ । गाउँपालिकाभित्रका ६ किसान समूहलाई १/१ वटाको दरले ट्रिलर वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले किसानलाई उक्त सामग्री हस्तान्तरण गर्दै परम्परागत कृषिप्रणालीमा पविर्तनको खाँचो रहेको बताए ।
‘हामी अझै पनि खेतबारी गोरुबाट जोत्दै आएका छौं,’ अध्यक्ष सेनले भने, ‘अब कृषिमा आधुनिकीकरणको खाँचो छ । हाम्रो ठाउँमा ठूला ट्याक्टरले जोत्न सम्भव छैन । त्यसैले यस वर्ष ६ थान मिनी ट्रिलर वितरण गरेका छौं ।’ सबै वडाबाट किसानको मागका आधारमा वितरण कार्यलाई निरन्तरता दिइने अध्यक्ष सेनले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५