विराटनगर ः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काङ्ग्रेसको १४औं महाधिवेशन निर्धारित समयमै हुने बताए ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त गरे ।
उनले पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लागे त्यसमा आफ्नो केही भन्नु नरहेको भन्दै पार्टी सभापतिले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको बताए ।
केन्द्रीय सदस्य डा. कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औं महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने बताए ।
उनले नेपाल विद्यार्थी सङ्घमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको बताए । उनले न्यायपालिकालाई निरीह हुन नदिन र शान्ति सुरक्षालाई कसिलो बनाउन सरकार गम्भीर बन्नुपर्ने सुझाव दिए ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५