रोल्पा ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि ५ लाख सहयोग गरेका छन् ।
रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमुना माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले स्थापना गरेको १ करोडको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गरेका हुन् । २०४२ सालदेखि आफूले माध्यमिक तहमा अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए ।
छात्रवृत्तिले गरिब, जेहेन्दार द्वन्द्वपीडित र अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने मन्त्री पुनले विश्वास व्यक्त गरे । जिल्लाको नमुना माविको थप विकास र स्तरवृद्धिका लागि पूर्वविद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले विद्यालयलाई देशकै नमुना बनाउन आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षाका लागि अझै पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको जनाउँदै मन्त्री पुनले जिल्लाभित्रै गुणस्तरीय प्राविधिक शिक्षालयको स्थापना गर्न आफू लागिपरेको उल्लेख गरे ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५