बुटवल ः बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं. ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करिब १ करोडको क्षति भएको छ ।
आगलागीबाट सो भवनमा सञ्चालित विन्ध्यवासिनी फेन्सी जलेर पूर्णरूपले क्षति भएकाले प्रारम्भिक अनुमानमा १ करोड बढीको नोक्सान भएको प्रहरीले जनाएको छ ।
राती करिब १० बजेदेखि लागेको आगो मध्यराती करिब साढे १२ बजे मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
शङ्करप्लाजामा रहेको विन्ध्यवासिनी फेन्सीबाट एक्कासि लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । आगलागीबाट विन्ध्यवासिनी फेन्सीमा पूर्ण क्षति भएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिए ।
फेन्सीका सञ्चालकले राती पसल बन्द गरेको केही समयपछि उक्त पसलबाटै आगलागी सुरु भएको प्रहरीको अनुमान छ । पसलमा रहेको विद्युत् लाइन सर्ट हुनाले आगलागी सोही पसलबाट सुरु भएको हो ।
बुटवल उपमहानगरपालिका, रामग्राम नगरपालिका, सिद्धार्थनगर नगरपालिकालगायतका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दासमेतको प्रयासबाट आगलागी नियन्त्रणमा ल्याइएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५