बेझाड ः पाल्पाको रामपुरमा सबैभन्दा ठूलो शैक्षिक सभाहल निर्माण हुँदै छ । रामपुर नगरपालिकाको सहयोगमा दरैठाँटी माध्यमिक विद्यालयको परिसरमा सभाहल निर्माण गरिँदै छ ।
विद्यालयले उपलब्ध गराएको करिब १ रोपनी क्षेत्रफलमा ६ सय मानिस अट्ने क्षमताको सुविधासम्पन्न सभाहल निर्माण भइरहेको निर्माण समितिका संयोजक ओमप्रकाश रेग्मीले बताए ।
सभाहल निर्माणका लागि रामपुर नगरपालिकाले ४० लाख रकम विनियोजन गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए । विद्यालयको ८ लाख रकमसहित करिब ४८ लाखको लागत स्टिमेटमा भवन निर्माणकार्य सुरु गरिएको हो ।
आउँदो आर्थिक वर्ष सुरु हुनु अघि नै सम्पन्न गर्ने गरी निर्माणकार्य अघि बढेको छ । रामपुर क्षेत्रमा ठूलो क्षमताको सभाहल नहुँदा विभिन्न कार्यक्रम, गोष्ठी, सभासमारोह गर्न समस्या परिरहेको छ ।
सहरोन्मुख हुँदै गएको रामपुरमा सभाहल निर्माणकार्य सम्पन्न भएपछि विभिन्न कार्यक्रम, गोष्ठी, सभासमारोह आयोजना गर्न सजिलो हुने दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताए ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५