ललितपुर ः ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी सुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो ।
चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार महानगरका ५ मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्को, कुपण्डोलबाट पाटनढोका हुँदै मंगलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उनले बताए ।
प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदै छ । उनले भने, ‘अबको एक वर्षभित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्नेछ ।’
‘स्मार्ट’ बत्ती अरू सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले बताएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरू आउँदा आफैं बल्ने प्रवक्ता महर्जनले बताए । उनले भने, ‘यात्रु र सवारी गएपछि बत्ती आफैं निभ्छ ।’
महानगरपालिकाका अधिकांश सडकमा बत्ती नहुँदा जोखिम बढ्दै गइरहेकाे छ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५