वीरेन्द्रनगर ः फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेंसी नगरपालिकामा बसोबास गरेका राउटेका ५ युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमबीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो ।
राउटे समुदायको संरक्षण गरी उनीहरूलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको हो । नियुक्तिपत्रअनुसार उनीहरूले प्रतिव्यक्ति मासिक १ हजार ५ सय पाउने भएका छन् । नियुक्तिपत्र प्रदान गर्दै सोसेककी पूर्वअध्यक्ष सीता रानाले राउटे समुदायमा रहेका बालबालिकाको संरक्षणका साथै समुदायका महिला र बालबालिकाको संरक्षण गर्ने उद्देश्यले उनीहरूलाई नियुक्तिपत्र प्रदान गरिएको बताइन् ।
नियुक्तिपत्र पाएका राउटेले अब समुदायभित्र बालक्लब तथा महिला समूह गठन गर्नुपर्ने हुन्छ । त्यसैगरी, समुदायका लागि चाहिने काठको व्यवस्थापन गर्नका लागि सामुदायिक वनसँग समन्वय गर्नुपर्नेछ ।
त्यसैबीच राउटे समुदायका बालबालिकालाई पोषणका लागि सर्वोत्तम पिठो पनि प्रदान गरिएको छ । बालबालिकामा कुपोषणको समस्या देखिएकाले उनीहरूलाई सर्वोत्तम पिठो प्रदान गरिएको हो । सोसकले सञ्चालन गरेको राउटे परियोजनाअन्तर्गत अहिले राउटे समुदायको स्वास्थ्य जाँच गर्ने अहेबको व्यवस्था गरिएको छ । परियोजनाअनुसार उनीहरूको समस्याबारे ध्यान दिइनुका साथै बालबालिकालाई पढाउने शिक्षकको पनि व्यवस्था गरिएको छ । सो समुदायकी शिक्षक दुर्गा खत्रीले यस समुदायमा उचित स्याहारको अभावका कारण नवजात शिशुको मृत्यु हुने गरेको बताइन् ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५