काठमाडौं ः सामान्यतया एउटा सबस्टेसनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर, प्राधिकरणले नै निर्माण गरेको एक सबस्टेसन सम्पन्न गर्न करिब ११ वर्ष लागेको छ ।
सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३/११ किलोभोल्ट क्षमताको सबस्टेसनको निर्माण सम्पन्न गर्न करिब ११ वर्ष लागेको प्राधिकरणले जनाएको छ । २०६४ साल असार २५ गते निर्माण सुरु भएको सो सबस्टेसन शुक्रबार मात्रै औपचारिक रूपमा निर्माण सकिएको घोषणा भएको हो ।
सल्यान जिल्लाका ३ हजार र रुकुम पश्चिमका ९ हजार घरधुरीमा विद्युत् उपलब्ध गराउन महत्त्वपूर्ण मानिएको सबस्टेसन निर्माण हुन लामो समय लाग्दा स्थानीय विद्युत् उपभोक्ता समस्यामा परेका थिए ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार सो सबस्टेसनको उद्घघाटन गरे । सहज रूपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ निर्माण सुरु भएको सबस्टेसनको निर्माणकर्ता श्री हरि निर्माण सेवा, राप्ती निर्मल निर्माण सेवा जेभी थियो ।
’१२ वर्षमा खोला पनि फर्कन्छ’ भन्ने नेपाली उखानजस्तै सधैं समस्यामा फस्दै आएको सो सबस्टेसनको निर्माण सम्पन्न गर्न प्राधिकरणले विशेष पहल गर्दै आएको र हाल आएर मात्र निर्माण सम्पन्न हुन सकेको कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।
नेपाल सरकार र प्राधिकरणको २ करोड ९३ लाख ५३ हजार ६६६ कुल लागत रहेको सो सबस्टेसन ठेक्का सम्झौता भएको मितिले डेढ वर्षमा सकिनुपर्ने थियो । तर, ठेकेदारले तोकिएको समयमा काम नगर्दा सबस्टेसन निर्माण प्रक्रिया अवरुद्ध आएको थियो ।
सबस्टेसन नहुँदा सल्यान र रुकुमका उपभोक्ताले सहज रूपमा विद्युत् सेवा पाउन सकेका थिएनन् । १२ वर्षमा १४ मन्त्री फेरिए तर सामान्य सबस्टेसनसमेत नबन्दा स्थानीयले भरपर्दो विद्युत् सेवा नपाएको भन्दै पटकपटक सरकारको ध्यानाकर्षण गराएका थिए । सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद टेकबहादुर बस्नेतका अनुसार पछिल्लो समय प्राधिकरणको सकारात्मक पहलपछि आयोजना सम्पन्न भएको हो ।
मन्त्री पुनले आयोजना सम्पन्न हुन लामो समय लाग्नुको पछाडि ठेकेदारको बदमासी रहेको र कानुनी कारबाही नहुँदा ठेकेदारले नै मन्त्री चलाउने अवस्था देखिएको बताए ।
मन्त्री पुनले तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही हुने र समयमै काम सम्पन्न गर्नेलाई आगामी दिनका अन्य निर्माण कार्यको अवसर दिने बताउँदै आएका छन् ।
कुल ३३ केभी क्षमताको सबस्टेसन निर्माणका लागि ठुलै प्रयास गर्नुपरेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आवमा ५५ वटा सबस्टेसनको निर्माण र स्तरोन्नति सम्पन्न गर्ने जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५