नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको नवौँ अधिवेशन तथा पुरस्कार वितरण समारोहको आज पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार प्रेस स्वतन्त्रता माथि आक्रमण गर्न उद्यत रहेको आरोप लगाएका छन् ।
सभापति देउवाले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्कामा अन्योन्याश्रित भएको बताए । वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको बताउँदै उनले हिजो जथाभावी सपना बाँडेको सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।
विसं २००७ देखि प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका पक्षमा निरन्तर सङ्घर्ष गरेको काङ्ग्रेस लोकतन्त्रको रक्षा एवं प्रेस स्वतन्त्रताका पक्षमा सधैँ क्रियाशील बन्ने विश्वास व्यक्त गरे । उक्त अवसरमा सभापति देउवाले नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र समिरजंग शाहलाई सम्मान गरे ।
रु ३५ हजार ५५५ नगदसहितको उक्त पुरस्कार दुई जनालाई संयुक्तरुपमा प्रदान गरिएको हो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका विरुद्धमा हुन जुनसुकै क्रियाकलापमा सशक्त कलम चलाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपालमा प्रजातन्त्र एवं प्रेस स्वतन्त्रताको आन्दोलनमा प्रेस युनियनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले संविधानले दिएका अधिकारलाई पनि वर्तमान सरकारले नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै संविधानको रक्षा र लोकतन्त्रको विकासका पक्षमा कलम चल्नुपर्ने धारणा राखे ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कार व्यक्तित्व छनोट समितिका संयोजक एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली, पुरस्कृत व्यक्तित्वद्वय कविर राणा र समीरजंग शाह, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हरिहर विरही, युनियन कास्कीका उपाध्यक्ष माधव रेग्मी, सचिव प्रकाशचन्द्र सापकोटालगायतले प्रेस स्वतन्त्रताको पक्षमा आ–आफ्ना भनाइ राखेका थिए।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५