पाल्पा ः नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले वर्तमान शिक्षा प्रणाली आधुनिक र प्रविधिमैत्री हुनुपर्ने बताएका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ स्थित भैरव नवदीप माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सवमा नेता पाण्डेयले दक्ष जनशक्ति उत्पादन गरी समृद्ध नेपाल निर्माण गर्ने सपना पूरा गर्न प्राविधिक शिक्षाको खाँचो रहेको बताए ।
देशमा दक्ष जनशक्ति उत्पादन गर्न र युवा पुस्तालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गरी दक्ष जनशक्ति तयार गर्न प्राविधिक शिक्षा आवश्यक रहेको बताए । शिक्षाको गुणस्तर उच्च र नमूनायोग्य बनाउन विद्यालयले व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा नेता पाण्डेयले जोड दिए ।
प्रदेश सांसद वसन्त घर्तीले सो विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरी देशकै नमूना विद्यालयका रूपमा विकास गर्न आवश्यक रहेको बताए । विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीले आव २०७४/७५ को रु १ करोड ७९ लाख ७० हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । यहाँ अहिले स्नातकसम्मको पढाइ हुँदै आएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५