कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ ।
टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
‘आगजनीबाट टावरका केबुल र बोर्ड जलेको छ,’ उनले भने, ‘एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको छ ।’
टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारबाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ ।
शुक्रबार राती ललितपुरको नक्खुस्थित एनसेलको गेटमा भएकाे बम विस्फोटमा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५