बनियानी : झापाको कनकाई नगरपालिकाले प्रदेश १ मै पहिलोपटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
विभिन्न पेसा व्यवसाय गरेर आत्मनिर्भर हुन चाहने युवाका लागि नगरपालिकाले आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘केन्द्रीयस्तरबाट यो कार्यक्रम लागू भए पनि स्थानीय तहले आफ्नै कोष खडा गरेर युवालाई स्वरोगार बनाउन तालिम र ऋण दिने कनकाई पहिलो स्थानीय तह हो,’ उनले भने, ‘कार्यविधि बनाएर काम अघि बढाएका छौं, यो कार्यक्रम निरन्तर अघि बढाइनेछ ।’
नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरेको युवा स्वरोगार कार्यक्रमका लागि रु ५२ लाख बजेटसमेत छुट्याएको छ । पहिलो चरणमा कोषको रकमबाट २० युवालाई रु २४ लाख वितरणसमेत गरिसकिएको छ । ‘तरकारी खेती र पशुपालन तालिम दिएर रु १ लाखदेखि १ लाख ५० हजारसम्म वितरण गरेका छौं,’ नगरप्रमुख पोखरेलले भने, ‘दोस्रो चरणमा मजदुरवर्गलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।’
नगरपालिकाले दोस्रो चरणअन्तर्गत हेयर कटिङ, प्लम्बिङ, हाउस वायरिङलगायतका क्षेत्रमा काम गर्नेलाई आवश्यक तालिम दिएर रकम प्रदान गर्ने भएको हो । तालिमपछि प्राप्त रकमबाट युवाले पेसा/व्यवसाय सञ्चालनार्थ आवश्यक उपकरण खरिदमा रकम खर्चिनुपर्नेछ ।
दोस्रो चरणका लागि पनि निवेदन माग गरिसकिएको र प्राप्त निवेदनका आधारमा छनोटमा परेका युवालाई रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत युवालाई रु २१ लाख प्रदान गरिने भएको छ । बढ्दो विदेश पलायन रोक्न र स्वदेशमै स्वरोगार बन्न युवालाई सहयोग मिलोस् भन्ने उद्देश्यले स्थानीयस्तरमै कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले बताइन् । नगरपालिकाले ३ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराएको हो ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५