दमौली : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षामा रहेको असमानता हटाउन आवश्यक रहेका बताए ।
तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको आज उद्घाटन गर्दै उनले सामुदायिक र निजी विद्यालयको शिक्षाको स्तर फरक रहेकाले विभेद र असमानता हटाउनुपर्ने बताएकाे हाे।
उनले भने-‘सामुदायिक विद्यालयमा शिक्षाको स्तर राम्रो नभएको देखिएको छ, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न आवश्यक छ, तब मात्र शिक्षामा देखिएको असमानता अन्त्य हुनेछ ।‘ नेपालको संविधानमा सबै क्षेत्रमा विभेद र असमानता अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिएकाले शिक्षाको विभेद हटाउनु आजको मुख्य चुनौती रहेको वरिष्ठ नेता पौडेलले बताए।
उनले सामुदायिक विद्यालयको स्तर सुधार्न सबै प्रयत्नशील हुनुपर्नेमा जोड दिँदै व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो रहेको बताए । दश वर्षसम्म विद्यालयमा अध्ययन गरेपछि बालबालिकाले केही न केही सिकेर विद्यालयबाट निस्कने वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन आवश्यक रहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५