हेटौँडा:प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्व विद्यालयको दुई फरक फरक विभागबीच युवा वैज्ञानिक सम्मेलन तथा सार्कस्तरीय वैज्ञानिक सम्मेलन गर्ने गरी आज समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको उपस्थितिमा मन्त्रालयका सचिव शिवकुमार वाग्ले र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका निर्देशक डा दीपक अर्याल तथा सोही विश्व विद्यालयका प्राविधिक अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा.रामेश्वर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरिन् ।
सम्झौतापछि मुख्यमन्त्री पौडेलले देशका कुना काप्चामा लुकेका प्रतिभाको कदर गर्न तथा नेपाली वैज्ञानिकको पहिचान गरेर समृद्धिको यात्रामा समाहित गराउन कार्यक्रम गर्न लागिएको बताईन् । उहाँले नेपालमा सरकारीस्तरबाट पहिलो पटक वैज्ञानिकको भेला गरेर उनीहरुको दक्षताको पहिचान गर्न लागिएको जानकारी गराईन् ।
प्रदेश सरकारको योजनालाई त्रिविले सहकार्य गर्न देखाएको तत्परताले आफूलाई खुशी लागेको उहाँले बताउनुभयो । कार्यक्रममा उद्योगमन्त्री नेपालले प्रदेश सरकार देशको हरेक क्षेत्रको विकास गर्न लागि परेको र वैज्ञानिकहरुको सम्मेलन गरेर नेपालको कृषि तथा पर्यटन एवं औद्योगिक विकासका लागि उनीहरुको ज्ञानको प्रयोग गर्न सोे कार्यक्रमका आयोजना गरिएको जानकारी दिईन् ।
सम्झौताअनुसार आगामी वैशाख १० र ११ गते त्रिभुवन विश्व विद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले नेपालभित्र भएका विज्ञान तथा प्रविधि क्षेत्रका नवप्रतिभालाई थप प्रोत्साहन तथा हौसला बढाउन सहयोग पुर्याउन राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन गरी अनुसन्धान कार्यपत्र प्रकाशनको आधार तयार पार्ने विभागका कार्यकारी निर्देशक डा.रामेश्वर अधिकारीले बताईन् ।
उहाँका अनुसार सम्मेलनमा प्रदेश तथा देशभित्रका १५० युवा वैज्ञानिकको सहभागिता रहनेछ । त्यस्तै विश्व विद्यालयको अर्को विभाग जल तथा मौसम विज्ञान विभागले आगामी जेठ २२ र २३ गते कम्तीमा पनि ५० को सहभागिता रहने गरी सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन गर्नेछ ।
विभागका प्रमुख डा दीपक अर्यालकाअनुसार प्रस्ताव आह्वान गरी नेपालको आवश्यकतालाई ठिक हुने गरी प्राप्त प्रस्तावमध्ये समितिमार्फत छनोट गरेर सार्कका सबै देशबाट प्रतिनिधित्व रहने गरी सहभागी गराइने छ । दुवै कार्यक्रमका लागि कूल रु ८० लाख खर्च हुने र जसमध्ये राष्ट्रिय युवा वैज्ञानिक भेलाका लागि रु ३० लाख खर्च हुनेछ भने सार्क वैज्ञानिक सम्मेलनका लागि रु ३० लाख खर्च हुने सम्झौता पत्रमा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५