काठमाडौं: नेपाली चलचित्र उद्योगमा महिलाले गर्दै आएको कामप्रति अझै विश्वास नभएको महिला चलचित्रकर्मीहरुले बताएका छन् ।
आज नेपाल ईन्टरनेश्नल फिल्म फेस्टिवलको अवसरमा चलचित्र निर्देशकहरुले आफुले गरेको काममाथि अझै अविश्वास रहदा दुःख लागेको बताएका छन् ।
महिला निर्देशकले निर्देशन गरेका चलचित्रले रेकर्ड बनाएको छ, तर दिपाले नै निर्देशन गरेको हो ? भनेर धेरैले आशंका गरेको भन्दै निर्देशक दिपाश्री निरौलाले अझै महिलाले गरेको कामप्रतिको विश्वास नरहेको बताईन । निर्देशन गर्न त्यति नै मेहनत लाग्ने बताउने निर्देशक निरौलाले एउटा राम्रो फिल्म निर्माणमा टिम राम्रो हुनुपर्ने बताईन । ‘निर्देशन पुरुष र महिला जसले गरेपनि काम उस्तै हो । राम्रो चलचित्र भएपनि उनले गरेको त होईन होला भनिदिँदा अचम्म लाग्छ’,उनले भनिन् ।
८० वटा भन्दा बढि म्युजिक भिडियो निर्देशन गरि चलचित्र निर्देशन गर्न थालेकी संगिता श्रेष्ठले म्युजिक भिडियो त क्यमेरा मेनले नै निर्देशन गरिहाल्छ नि । निर्देशकको त नाम मात्र हो भन्नेसम्म पाएको भन्दै महिलाको कामप्रतिको विश्वास अझै नरहेको बताईन, ‘सुरुमा म्युजिक भिडियो निर्देशन गर्दा कलाकारसँगै क्यामेरा मेनले समेत भनेको नमानेको सम्झना छ । तर अहिले त्यत्रो समस्या नभएपनि अझै चुनौति छ ।’
नेपाल ईन्टरनेश्नल फिल्म फेस्टिवलको अवसरमा आयोजित ‘सिनेमामा महिला विषयक छलफल’मा आफ्नो कामले विश्वास हुने भएकोले कामलाई निरन्तरता दिदै जाने बताएका छन् । फिल्म समाजको पथप्रर्दशक भएकोले समाजमा रहेको विकृति विसङ्गति न्युनिरकण गर्ने किसिमको चलचित्र निर्देशन गर्नेमा आफूहरु लागि परेको महिला निर्देशकहरुले बताएका छन् ।
नेपाल ईन्टरनेश्नल फिल्म फेस्टिवलको छलफल कार्यक्रममा संगिता श्रेष्ठ, दिपाश्री निरौला र रेखा थापाको सहभागिता रहने भनिएपनि श्रेष्ठ र निरौलाको मात्र उपस्थिती थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५