बलेवा : नेपालकै एक मात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ ।
हिउँ नपग्लिँदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका– ९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन । हिउँ नपग्लदा बोवाङको फलियाघरदेखि माथिको बस्तीमा सडक यातयात पूर्ण रूपमा बन्द भएको स्थानीय कमल भण्डारीले बताए।
बुर्तिवाङदेखि फलियाघरसम्म यातायातका साधन पुग्ने गरे पनि त्यसमाथि हिउँका कारण जान सकेका छैनन् । हिउँ नपग्लिएको क्षेत्रभित्र ढोरपाटन सिकार आरक्षको कार्यालय, तिब्बती शरणार्थी क्याम्प तथा खाल्टेखुल्टे, छेमतुङ, भार्ती, लामाखोरिया, स्यालपाखे, बिजुरेखोला, उत्तरगङ्गा, असौजे, नदी, भूजी, कोमा, विगा, मसलगायतका बस्ती छन् ।
अत्यधिक चिसोको कारण स्थानीय ७ वटा विद्यालयमा विद्यार्थीको उपस्थितिसमेत न्यून रहेको ज्योति विकास आधारभूत विद्यालयले जनाएको छ । चिसोकै कारण छेन्तुङ र बिजुरेका बालविकास केन्द्र बन्द छन् ।
पैदल यात्रालाई समेत कठिन हुने गरी बाटोमा हिउँ जमेपछि जाडो छल्न असोज, कात्तिकमा बेँसी (बोवाङ, अधिकारीचौर) झरेका स्थानीयबासी घर फर्किन सकेका छैनन् । समयमै फर्किन नसक्दा आलुखेती उठाउन समस्या हुने बताइएको छ । ढोरपाटन क्षेत्रका स्थानीय जाडो छल्न हरेक वर्ष बस्तुभाउसहित ढोरपाटन र बोवाङ, अधिकारीचौर, नौथर क्षेत्रमा घुम्ती बसाइँसराइ गर्ने गरेका छन् । यातायात सम्पर्क पूर्ण रूपमा बिच्छेद भएपछि खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ ।