रुपन्देही ः सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।
अशक्त ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्न पनि गाह्रो भएकाले घरमै वितरणको व्यवस्था गरिने उनको भनाइ छ । नगरको शिक्षा, स्वास्थ्य र सामाजिक सरोकारका विषयलाई प्राथमिकता दिनेगरी काम अघि बढेको छ, उनले भने, विपन्न र ज्येष्ठ नागरिकको सेवामा विशेष हेक्का राखेको छौं ।’
सैनामैना नगरका ५ हजार ९२४ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन्, तीमध्ये ३ हजार १२९ जना ज्येष्ठ नागरिकले भत्ता लिँदै आएको नगर उपप्रमुख बिना रानाले जानकारी दिइन् ।
नगरपालिकामा एकल महिला भत्ता बुझ्नेको सङ्ख्या २ हजार ४ छ भने १८ जना लोपोन्मुख आदिवासी, ३२० जना पूर्ण अपाङ्गता भएका, ४५३ जना दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता लिँदै आएको नगरका सामाजिक सुरक्षा शाखाका केशव अर्यालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५