काठमाडौं ः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ७ विकेटले पराजित गरेको छ ।
थाइल्यान्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएईले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र 3 विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान रुबिना क्षत्रीले सर्वाधिक १८ रन बनाइन् । त्यस्तै काजल श्रेष्ठले १५ तथा सरिता राना मगरले ६ रन बनाइन् । यसअघि युएईले टस जितेर पहिले ब्याटिङ गर्दै १७.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनाएको थियो ।
युएईका लागि चामानी रोसहिनीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्स म्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ४ विकेट लिइन् । यस्तै सीता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले समान २/२ विकेट लिए ।
जितसँगै नेपालले ३ खेलबाट १ मा हार र २ मा जित निकाल्दै ४ अङ्क बनाएको छ । युएईको पनि समान ४ अङ्क नै छ । छनोट प्रतियोगिताका सुरुवाती ३ खेल जितेर युएई बलियो अवस्थामा छ । उसले ३ खेलबाट ६ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
नेपालले अर्को खेल फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुबेतसँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा खेल्नेछ । एसिया छनोटमा नेपालसहित ७ राष्ट्र प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्यान्ड, युएई, मलेसिया, कुबेत, चीन र हङकङ सहभागी छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५