रुपन्देही : प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उनको गए राती निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किने क्रममा ओली दाङमा दुर्घटनामा परी घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहेका ओलीको १६ दिनमा काठमाडौंको मेडिसिटी अस्पतालमा गए राती १ बजे निधन भएको अस्पतालले पुष्टि गरेको थियो ।
उनको पार्थीव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यालय काठमाडौंमा राखिएको र दिउँसो हेलिकोप्टरमार्फत दाङ ल्याउने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिए ।
प्रदेशसभा सदस्य ओलीको निधनमा प्रदेशसभाको १९ गते बस्ने बैठकमा शोक प्रस्ताव पारित गरिने सचिव पुनले जानकारी दिए । ओली पूर्वनेकपा एमालेबाट दाङको क्षेत्र नं. ३ को ख बाट प्रदेशसभाका लागि सांसद बनेका थिए । दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओलीका श्रीमती र दुई छोरा छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५