काठमाडौं ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सांगठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा सांगठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेस गरिएको जानकारी दिए ।
उनका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो प्रतिवेदनका सम्बन्धमा आआफ्ना विचार राखेका थिए । गत पुस १२ गते सम्पन्न स्थायी कमिटी बैठकले सचिवालय सदस्य थापाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले दिएको सुझावमाथि छलफल सुरु गरिएको बताए ।
यसैगरी बैठकमा कार्यदलले पूर्ण प्रतिवेदन बुझाउनका लागि थप एक साता समय माग गरेको छ । कार्यदलका सदस्य योगेश भट्टराईले पार्टी एकता ढिलाइ भइरहेकाले छिटो सम्पन्न गर्नका लागि आफूहरूले एक साताको समय माग गरेको बताए ।
‘हामीले विभिन्न कारणले प्रतिवेदन दिन सकेनौं’, उनले भने, ‘अब एक साताको समय हामी सबैले माग गरेका छौं । एक साताको समय कार्यदललाई दिइएमा हामीलाई दिइएका सबै विषय जिम्मेवारीपूर्वक सम्पन्न गरेर सचिवालयलाई प्रतिवेदन बुझाउँछौं ।’ सचिवालयको अर्को बैठक शुक्रबार बस्ने भएको छ ।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुन सकेको छैन । स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिँदै गइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५