काठमाडौं ः मनमैंजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजस्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या वृद्धि भएको मनमैंजु मालपोत कार्यालयले जनाएको छ ।
कार्यालयका लेखा शाखाका नायब सुब्बा शेरप्रसाद शर्माका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्गा पास गर्नेको सङ्ख्या वृद्धि भएको छ । अहिले दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा २५ प्रतिशत छुट हुने कानुनी प्रावधान छ ।
आर्थिक वर्ष २०७४/७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या ३ हजार ९४७, दलितका नाममा जग्गा पास गर्नेको सङ्ख्या ११ र वृद्धवृद्धाको नाममा जग्गा पास गर्ने ७ थियो । कार्यालयमा जग्गा नामसारी गरी प्राप्त भएबापत महिलाले रु ३ करोड १६ लाख ७७३ राजस्व छुट पाएका छन् । यस्तै दलितका नाममा जग्गा पास गरेबापत रु ६१ हजार ५५४ राजस्व छुट पाएको लेखा अधिकृत विजयप्रकाश गिरीले बताए ।
आव २०७४/७५ को हालसम्म महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या १ हजार ७८५ कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबापत महिलाले ३ हजार ९४७ राजस्व छुट पाएका छन् । यस्तै कार्यालयमा आव २०७५/७६ मा अपाङ्गताको नाममा जग्गा लिनेको सङ्ख्या ६ पुगेको छ । छुटबापतको रकम रु ३५ हजार १५४ रहेको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५