काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारी साधनमा २ चालक नराख्ने ४५ सवारी साधनलाई कारबाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा २ चालक राख्नुपर्ने कानुनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी चालकलाई नागढुंगामा जाँचका क्रममा कारबाही गरेको हो ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २ सवारीचालक राखे-नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालनमा ल्याएको थियो ।
महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा २ चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानुन नमान्ने सवारीसाधनलाई कारबाही गरिएको जानकारी दिए ।
निर्देशनालयले लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको थियो । उक्त एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौंको नागढुंगा, प्रदेश नं. २ को सर्लाहीको कर्मैया र प्रदेश नं. ५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको थियो । कानुन नमान्ने सवारी साधनलाई रु १ हजार जरिवाना गरेको महाशाखाले जनाएको छ ।