पाल्पा : तिनाउ गाउँपालिका–२ सुकेतालस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुकेताल संरक्षणको पर्खाइमा रहेको छ । सुकेतालभन्दा माथिल्लो भागमा सञ्चालित चुन ढुंगाखानी र सडक विस्तारका कारण ताललाई असर गर्ने सम्भावना रहेको स्थानीय बासिन्दाको गुनासो छ ।
उचित रूपमा ताल क्षेत्रको संरक्षण गरी सयौं पर्यटक घुमफिर गर्ने थलो बनाउन सकिने भए पनि पर्याप्त मात्रामा प्रचार प्रसार हुन नसक्दा महत्व बोकेको यस क्षेत्र गुमनाम छ । प्राकृतिक हिसाबले समेत महत्वपूर्ण रहेको सुकेताललाई पर्यटकीय गन्तव्यक रूपमा विकास गर्नुपर्ने देखिन्छ तर अझै भौतिक संरचनाको विकास हुन सकेको छैन । सुकेताल सुकी अर्थात् ढक पैसाको आकारमा फैलिएको छ । ३ रोपनी जग्गामा फैलिएको ताललाई प्रदेश नं. ५ को प्रसिद्ध तालका रूपमा विकास गर्ने योजना अघि बढाइएको गाउँपालिका स्रोतले जनायो ।
सुकेताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास र विस्तार गर्न सरकारले पर्यटकलाई आकर्षण हुनेखालका संरचनाको विकास गर्नुपर्ने सरोकारवालाको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार सुकेताललाई पर्यटकीय गन्तव्य बनाउन सके स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहज हुनेछ । गाउँपालिकाले विकास र समृद्धिको नाराअनुसार नीति तथा कार्यक्रम बनाएर तालको आसपासमा सञ्चालित घरबास (होमस्टे) प्रभावकारी बनाउनेतर्फ लागेको वडाध्यक्ष राजेश श्रेष्ठले बतारए ।
निजी जग्गा किनेर ताललाई ७ रोपनी क्षेत्रमा फैलाउने गरी काम भएको र यसले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले राष्ट्रपति चुरे संंरक्षण कार्यक्रमअन्तर्गत रु १५ लाख बजेटमा ताललाई थप विस्तार गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागेको बताए ।
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५