अछाम : सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेल मैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेल मैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो ।
खेल मैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । एउटा खेल मैदानका लागि २० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखाका उपसचिव किसानराज चिलुवालले जानकारी दिए ।
चालू आर्थिक वर्षको असार मसान्तसम्म खेल मैदान निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १०, कञ्चनपुरमा ६, अछाममा ४, बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङ र बाजुरामा २/२ खेल मैदान बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । अछामका ४ ठाउँमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । जिल्लाका ४ प्रदेश निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण तथा सुधार हुने जानकारी आफूहरूले पाएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख हर्कबहादुर साउदले जानकारी दिए ।
उनले निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा १ मा बडासैन खेल मैदान रिडीकोट- २ को थालाकोट खेल मैदान कालिका तथा क्षेत्र नं. २ को प्रदेशसभा २ मा मालिका रङ्गशालाको स्तरोन्नतिमा बजेट खर्च हुने प्रबल सम्भावना रहेको बताए । क्षेत्र नं. २ को प्रेशसभा १ मा नयाँ मैदानका लागि पनि खर्च हुनसक्नेछ । सामाजिक विकास मन्त्रालयबाट आधिकारिक जानकारी नआएकाले खेल मैदान निर्माण, सुधार तथा कुन स्थानमा हुने भन्नेबारे आधिकारिक छलफल नभएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।