हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक, सामाजिक र पारिवारिक कारणले विस्थापित भएर सडकमा जीवन बिताउने असहाय वृद्धवृद्धाको संरक्षण उद्धार र पुनःस्थापनामा सरकारी र गैरसरकारीलगायत समाजका सबै पक्षले सहयोग पुर्याउने बताए ।
जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित ‘सहयोगापेक्षी सडक मानवमुक्त’ मकवानपुर जिल्ला घोषणा कार्यक्रममा उनले सरकारको नीति तथा कार्यक्रमअनुसार सडकमा जीवन बिताउनेको उद्धार र संरक्षण गर्ने जिम्मेवारी पूरा गरेको बताए ।
मानव आश्रम मात्र खोलेर हुँदैन, त्यसका लागि साधन स्रोत र बजेटको आवश्यकता हुन्छ भन्दै मुख्यमन्त्री पौडेलले राज्यले त्यस्ता आश्रमलाई सहयोग पुर्याउने बताए । प्रदेशको १३ जिल्लामध्ये मकवानपुरलाई सर्वप्रथम सडक मानवमुक्त घोषणाको कार्यक्रम उदाहरणीय रहेको उल्लेख गर्दै उनले प्रदेशका १३ वटै जिल्लालाई सहयोगापेक्षीरहित जिल्ला बनाइने उल्लेख गरे ।
सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले परिवारबाट उपेक्षितको उद्धार र पुनःस्थापना गर्ने उद्देश्यले घोषित कार्यक्रममा सबैको सहयोग आवश्यक भएको बताउँदै यो परोपकारको कार्यलाई सहयोग गर्न वर्तमान सरकार पछि नपर्ने स्पष्ट पारे । सामाजिक विकासमन्त्री युवराज दुलालले घर छाड्ने बाध्यात्मक वातावरण नबनाउन सबैलाई आग्रह गर्दै उद्धार कार्यमा समाजको हरेक वर्गले सहयोग पुर्याउनुपर्ने र चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश ३ का मुख्य सचिव आनन्दराज ढकाललगायत विभिन्न राजनीतिक दलका नेता, पदाधिकारी, व्यवसायी तथा समाजसेवीले पनि मानव आश्रमलाई सहयोग पुर्याउने प्रतिबद्धतासमेत गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको तर्फबाट आयोजक संस्थाका प्रमुख खुलाललाई सडकमा बसोबास गर्नेको उद्धारका लागि एउटा गाडीको साँचो हस्तान्तरण गरे । कार्यक्रम घोषणाअघि संस्कृति झल्काउने खालका विभिन्न निकायका व्यानरसहितको र्याली आयोजना गरिएको थियो ।