भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।
आज भक्तपुरमा आयोजित हनुमन्ते सफाई अभियानको ५१औँ हप्ता वाकाथुन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सफाई अभियानले नयाँ सभ्यताको विकास गरेको बताए ।
विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, वर्ग, धर्म, लिंग र समुदाय एकजुट भएको सन्देश हनुमन्ते सफाई अभियानले दिएको बताउँदै उनले नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमार्फत् नयाँ सभ्यताको इतिहास रच्ने सुनौलो अवसर प्राप्त भएको बताए । देश बनाउने जिम्मेवारी सबै नागरिकको भएकाले यसमा विभाजित हुन नहुने उनको भनाइ छ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नदी सफाई अभियानले नागरिकलाई स्वच्छ र सुरक्षित जीवनयापन गर्न सहयोग पुगेको बताए । उनले वातावरणमा आएको ह्रास न्यूनीकरण गर्न सरसफाई अभियानलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
नेकपाका नेता महेश बस्नेतले सरकारले लिएको विकास र समृद्धिको लक्ष्यलाई भक्तपुरका जनताले अभियानका रुपमा सञ्चालन गरिरहेको उल्लेख गर्दै ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर’ बनाउने उद्देश्यले आयोजना गरिएको हनुमन्ते सफाई अभियान अहिले देशकै नमुना अभियानका रूपमा अगाडि बढेको बताए ।
हनुमन्ते सफाई अभियान १०० हप्तासम्म लैजाने बताउँदै नेता बस्नेतले अहिले हनुमन्ते करिडोर निर्माण तीव्र गतिमा भएको र दुई वर्षभित्र हनुमन्तेलाई ढलमुक्त र सफा बनाउने प्रतिवद्धता व्यक्त गरे ।
अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अरनिको राजमार्ग सफाई अभियानदेखि सम्पदा, मठमन्दिर सफाई अभियान, गाउँ टोल सफाई अभियानसमेत सञ्चालन गर्दै आएको बताए ।
आज बिहान राष्ट्रिय धावक बैकुष्ठ मानन्धरको नेतृत्वमा मध्यपुर थिमीदेखि सुरु भएको वाकाथुन सल्लाघारी पुगेर समापन भएसँगै नेकपाका अध्यक्ष दाहाल र कांग्रेसका नेता सिंहले सल्लाघारीमा गाडिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । समारोहमा राष्ट्रिय धावक मानन्धरलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५