नेपाली साहित्यिक पत्रिका शब्दालय प्रकाशन हुने भएको छ । हाललाई त्रैमासिक ई-पत्रिकाकाको रूपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक रूपमा प्रकाशन हुने सम्पादक समूहका गोवर्द्धन पूजाले बताए । साहित्यिक पत्रकारितामा लामो अनुभव सँगालेका पूजाले शब्दालय सम्पूर्ण साहित्यिक पत्रिका हुने उल्लेख गर्दै वेवसाइट तयार भइरहेकाले आगामी दिनमा यसलाई सबैको पत्रिका बनाउन प्रयास गर्ने जानकारी दिए ।
नेपाली साहित्यलाई विश्वका पाठकमाझ पुर्याउने, घरदेश र परदेशका साहित्यिक सिर्जनालाई समन्वय गरेर साहित्यिक विकासमा टेवा पुर्याउने उद्देश्य बोकेको र उक्त प्रयासले नेपाल र काम विशेषले प्रवासमा रहेका सर्जकबीच पुलको काम गर्ने उनको भनाइ छ । अन्नपूर्ण पोस्ट दैनिकमा आठ वर्ष वरिष्ठ उपसम्पादकका रूपमा काम गरेका पूजाले आकाश, अनावरण, वृष्टि, अन्तर्दृष्टि, कालान्तर, समानान्तरण, मधुरसलगायतका दर्जनौँ विविध पत्रिकामा सम्पादकका रूपमा अनुभव सँगालेका छन् । पूजाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिवका रूपमा दुई कार्यकाल काम पनि गरेका थिए ।
सम्पादक मण्डलका कृष्ण कुसुमले शब्दालय पत्रिकालाई उत्कृष्ट बनाउन सबै प्रयास गरिने बताउँदै साहित्यकारको कलमको सम्मानार्थ वर्षभरिमा प्रकाशित सिर्जनामध्ये गद्य र पद्यबाट एक-एक सिर्जनालाई २५०/२५० अमेरिकी डलरसहितको सम्मान पनि दिइने बताए ।
सम्पादक मण्डलकै अर्का सदस्य राजकुमार पुडासैनीले शब्दालयले विदेशमा रहेका साहित्यकारहरूको कृति प्रकाशनमा पनि सहयोग पुर्याउने भन्दै कृति प्रकाशन गर्न चाहने सर्जकको कृति प्रकाशन गर्न सहयोग गर्ने, सम्पादन, छापाखाना र डेक्सटपको काममा शब्दालय परिवारले सहयोग गर्ने बताए ।
साहित्यकार सतीश त्रिपाठीले शब्दालयले प्रवासी साहित्यकारको प्रकाशित कृति वितरणमा सहयोग गर्ने उद्देश्य राखेको जानकारी दिँदै नेपाली साहित्यको फैलावटमा विशेष काम गर्ने बताए । त्रिपाठी पनि सम्पादक समूहमा रहेका छन् ।
विश्वका विभिन्न मुलुकमा रहेका साहित्यिक सर्जकहरूको आवद्धता रहेको शब्दालय प्रकशनले नेपालमा छिट्टै प्रकाशनगृह संचालन गरेर नेपाली साहित्यको सेवामा लागेका सर्जकको कृति प्रकाशनमा सहयोग गर्ने उद्देश्य राखेर काम आरम्भ गरेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५