प्रणय दिवसमा समेत पर्यटकको चहलपहल उल्लेख्य बढ्न सकेको छैन । चितवनकै स्थानीय तहका पर्यटकीय गन्तव्यमा प्रवर्द्धनका कार्यक्रम बढ्न थालेपछि सौराहा रोजाइमा पर्न छाडेको छ । सौराहामा यस महिनामा विदेशी पर्यटक नगण्य मात्रामा भेटिएका छन् । स्वदेशी पर्यटक कार्यक्रममा सहभागिता जनाउन मात्रै आउने गरेका पाइन्छ ।
विगतमा भ्यालेन्टाइन डे (प्रणय दिवस)मा निकै खचाखच हुने सौराहा यसपालि तङ्ग्रिन सकेको छैन । युगल जोडी, परिवार र साथीभाइ मिलेर सौराहामा प्रणय दिवस मनाउने क्रममा मन्दी लागेको छ । पर्यटकलाई आकर्षित गर्न भ्यालेन्टाइन डेको अवसर पारेर रेस्टुरेन्ट एण्ड बार एसोसिएसन सौराहा (रेवान)ले खाना महोत्सव आयोजना गर्दै आएको छ ।
सौराहामा आयोजित खाना महोत्सवका संयोजक ध्रुव गिरीले भ्यालेन्टाइन डेमा आयोजित सांस्कृतिक कार्यक्रम र खाना महोत्सवमा रमाउन आन्तरिक पर्यटक आए पनि बास बस्न आउने पर्यटक कम रहेको बताए । पर्यटक ल्याउन गरेका कार्यक्रमले पनि चहलपहल दिन सकेनन् , उनले भने, दिनभरि खचाखच हुन्छ, साँझ परेपछि सुनसान जस्तै बन्छ । सौराहा प्रणय दिवसलाई लक्ष्य गरी सजाइएको छ । यहाँ प्रेमपत्र लेखन, भलिबल, पर्यटक दौड, बेलुन उडाउनेलगायत प्रतियोगिता हुँदै छन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले पर्यटकको चाप बढ्न नसकेको दुखेसो गरे । होटल बुकिङ त्यति साह्रो छैन, बेलुकासम्म चहलपहल बढ्छ कि भन्ने आशा छ , उनले भने, फुड फेष्टिवलले केही सहयोग गर्छ भन्ने सोच हो तर बाह्य पर्यटक आकर्षित हुन सकेनन् । उनले यो मौसम विदेशी पर्यटक नेपाल आउने ‘अफ सिजन’ भएकाले त्यसको प्रभाव परेको हुन सक्ने बताए । सौराहामा केही वर्षयता हात्ती महोत्सव, खाद्य महोत्सवलगायत कार्यक्रम आयोजना गर्दै पर्यटक तान्ने प्रयास भइरहेका छन् । अहिलेको भ्यालेन्टाइन डे बिदामा नपर्नु र अन्य ठाउँमा हिउँ परेकाले पनि आन्तरिक पर्यटक चारैतिर बाँडिएको हुन सक्ने स्थानीय बताउँछन् ।
पर्यटनविद् विश्व सुवेदीका अनुसार पहिले पर्यटक सौराहा, मेघौली, पटिहानी र देवघाट पुग्ने गरे पनि अहिले त्यस्तो अवस्था छैन । इको टुरिज्म मनपराउनेहरू आजभोलि होमस्टेमा जान मनपराउँछन् , उनले भने, चितवन भित्रिने पर्यटकमध्ये ३८ प्रतिशत पर्यटक दोहोरिएर सौराहा जाँदैनन् । उनका अनुसार आन्तरिक पर्यटकसमेत चितवनका अन्य गन्तव्यतर्फ जाने क्रम बढेको छ ।
चितवनमा ५५ नयाँ पर्यटकीय गन्तव्य पहिचान भएर प्रवर्द्धनका कार्यक्रम हुन थालेका छन् । चितवनको सौराहामा ६० रेस्टुरेन्ट र ११० होटल सञ्चालनमा छन् ।