काठमाडौं : नेपालमा पहिलो पटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसीप– २०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आयोजक बडी बिल्डिङको अन्तर्राष्ट्रिय महासंघ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसीपका लागि विदेशका खेलाडीसमेत आउने क्रम जारी रहेको जनाकारी दिएको छ ।
यस्तै, ‘गेष्ट पोजर’को रूपमा आउने लागेका बडी बिल्डर रोली विङ्कलर पनि बिहीबार नेपाल आइपुग्ने आयोजक संस्थाका अध्यक्ष सानु गुरुङले जानकारी दिए ।
राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीको नाम र तौल समूह शुक्रबार सार्वजनिक गरिने उनको भनाइ छ । गुरुङले अहिलेसम्म १५ देशका खेलाडीले नाम दर्ता गरिसकेको र अरू खेलाडीले पनि नाम दर्ता गर्ने क्रम जारी रहेको सो अवसरमा जानकारी दिइयो ।
प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडी बिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार ‘इभेन्ट’मा प्रतिस्पर्धा हुनेछ । चार इभेन्टका विजेताले ‘प्रो कार्ड’ पाउनेछन् र अमेरिकाको लासभेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउनेछन् । च्याम्पियनसीपमा ५० देखि ६० खेलाडीले भाग लिने अध्यक्ष गुरुङले जानकारी दिए । च्याम्पियनसीपका लागि खेल हेर्न १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ दरका टिकट राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५