सप्तरी : प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढ्न जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गरेका हुन् ।
सो अवसरमा उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेकाले सामाजिक रूपान्तरणका लागि ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान आवश्यक रहेको बताए ।
छोरी जन्मिनेबित्तिकै अब लखपति भएर जन्मिने बताउँदै मुख्यमन्त्री राउतले महिला सशक्तीकरणका लागि प्रदेशमा माघदेखि जन्मिने छोरीका लागि एक लाख रुपैयाँको शिक्षा बीमाको नीति सुरु गरिएको जानकारी दिए ।
अभियानमा मुख्यमन्त्रीको नाम जोडिए पनि कार्यक्रममा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए । मुख्यमन्त्री राउतले भने, ‘महिला हिंसा, दाइजो उन्मूलन, बालविवाह, बोक्सी प्रथा, छुवाछुत निर्मूल गर्न ल्याइने कानुनमा कडा प्रावधान राखिनेछ ।’
प्रदेश २ मा महिला शिक्षाको स्तर सबैभन्दा कमजोर रहेकाले स्तर उकास्नका लागि छोरीले पढ्ने वातावरण राम्रो बनाउन उनीहरूलाई साइकल वितरणलगायत विभिन्न कार्यक्रम सुरु गरिएको अभियानकी प्रमुख प्रियंका यादवले बताइन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५