काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बर्नमाउथमाथि सानदार जित हात पारेको छ ।
आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युनाइटेडले बोर्नेमाउथलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा पाउल पोग्बाले दुई गोल गरे भने मार्कस रास्फोर्ड र रोमेलु लुकाकुले एक–एक गोल गरे । बोर्नेमाउथका लागि नाथन अकेले एक गोल फर्काए ।
खेलको पाचौ मिनेटमा नै पोग्बाले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । पोग्बाले नै खेलको ३३ औं मिनेटमा अग्रता दोब्बर पारे ।
खेलको ४५ औं मिनेटमा रास्फोर्डले गोल गरे भने दोस्रो हाफमा रोमेलु लुकाकुले गोल गर्दै ४–१ को जित दिलाए । जितपछि लिगको छैटौ स्थानमा रहेको युनाइटेडको २० खेलबाट ३५ अंक भएको छ । पराजित बर्नमाउथको समान खेलबाट २६ अंक छ ।
त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा बर्नलीले वेष्टह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०७५