काठमाडौं । तीन पटकको ‘ए’ डिभिजन लिग विजेता संकटा क्लब र सात पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबबीच आज हुने ११ औं चरणको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ ।
जारी ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज हुने खेल मनाङले जिते ए डिभिजनको इतिहासमा कीर्तिमानी जितसहित मनाङले दुई खेलअगावै आठौं पटक उपाधि जित्नेछ भने संकटाले जिते मनाङले अर्काे खेलसम्म कुर्नुपर्नेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ः३० बजे हुने खेलमा मनाङले संकटालाई हराउन सके कीर्तिमानी आठौं पटक ए डिभिजन लिगको उपाधिमा कब्जा गर्नेछ ।
अहिलेसम्म मनाङले २०४२–२०४३, २०४३–२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० तथा संकटाले २०३७, २०४० र २०४२ सालमा उपाधि जितिसकेको छ ।
पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक छ । तीन अंक जोड्न सके मनाङले दुई खेलअगावै प्रतियोगिताको उपाधि जित्नेछ । अहिले मनाङको १० खेलबाट ३० अंक तथा समान खेलबाट संकटाको २५ अंक छ ।
लिगको रोमाञ्चकतालाई अन्तिमसम्म बचाइ राख्ने जिम्मेवारी भने संकटाको काँधमा छ । आजको खेलमा संकटाले जिते लिगको रोमाञ्चकता अन्तिम खेलसम्म जान सक्छ । त्यसले संकटाको लिग जित्ने गणितीय सम्भावना समेत बाँकी राख्नेछ ।
यस सिजन अपराजित एक्लो टोली मनाङले दशौं चरणसम्म शतप्रतिशत नतिजा हात पारेको छ । संकटाले भने आठमा जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै २५ अंक जोडेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०७५