काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन टाइगर्सलाई ४ विकेटले हराउँदै भैरहवा ग्लाडियटर्स दोस्रो क्वालिफायर्समा पुगेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा चितवनले दिएको १४० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । भैरहवाको जितमा कुशल मल्ल र रोहितकुमार पौडेलले चार ओभरमा ५१ रनको साझेदारी गरे । कुशल २७ रनमा अविजित रहे । उनले १३ बलको सामना गर्दै दुई चौका र दुई छक्का प्रहार गरे ।
त्यस्तै, रोहितले १४ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २४ रनमा अविजित बने । त्यसअघि भैरहवाका प्रदीप ऐरीले ४२ रन बनाए भने कप्तान शरद भेषावकरले २९ रन बनाए ।
चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । १८ रनमा पहिलो विकेट गुमाएको चितवनको २४ रन हुँदा तेस्रो विकेट झर्यो । उसका कुनै पनि खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । उसले ७५ रन बनाउँदा ५ विकेट गुमाउन पुग्यो । पल स्टर्लिङ १४ रनमा आउट भए भने जोन सिम्पसन पनि १४ रनमा नै पेभेलियन फर्किए । यस्तै भिम सार्की र जर्ज स्कट पनि ९/९ रनमा आउट भए । चितवनका लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५६ रन बनाए । कमलसिंह ऐरीले १३ रन बनाए ।
अब फाइनल प्रवेशका लागि भैरहवाले काठमाडौंसँग खेल्नेछ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५