काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं किंग्ससँग पराजित भएसँगै विराटनगर वारियर्स लिग चरणबाटै बाहिरिन पुगेको छ ।
कीर्तिपुर क्रिकेट मेदानमा भएको लिगको अन्तिम खेलमा विराटनगर वारियर्स काठमाडौंसँग ५ विकेटले पराजित हुन पुग्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १७ ओभर ५ बलमा १०० रन मात्र बनाउन सक्यो । ११ रनमा पहिलो विकेट गुमाएको उसले ४४ रन बनाउँदा ४ विकेट खेर फाल्यो । अनिल साह ६ रनमा आउट भए भने बाबर हायात ११ रनमा पेभेलियन फर्किए ।
त्यसपछि कप्तान पारस खड्का पनि २१ रनमा आउट हुन पुगे । विराटनगरका खेलाडी क्रिजमा धेरै बेर टिक्न सकेनन् । उसले ९३ रन बनाउदा ७ विकेट खेर फाल्यो । सुमित महर्जन २५ रनमा आउट भए भने प्रनिल थापा मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पनि उसका कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेन र सय रनमा अलआउट भयो ।
काठमाडौंका लागि बलिङमा केभिन ओब्राइनले तीन तथा प्रविन साहु र विक्रम भुषालले दुई–दुई विकेट लिए ।
जवाफमा काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । २४ रन बनाउँदा तीन विकेट गुमाएको काठमाडौंका रोहन मुस्तफाले खाता खोल्न सकेनन् भने सागर पुन पनि १० रनमा आउट भए ।
अमित श्रेष्ठ १४ रनमा पेभेलियन फर्किँदा नरेश बुढाऐर मात्र सात रनमा बाहिरिए । काठमाडौंको जितमा केभिन ओब्राइन र प्रविन साहुले अर्धशतकीय साझेदारी गरे ।
विराटनगरको हारले रनरेटमा अगाडि रहँदै चितवन प्लेअफमा पुगेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १, २०७५