–टंक कार्की
उ जमानाको कुरा हो । सिद्धार्थ बुद्ध मगधको राजधानी राजगृहको नजिकै गृध्र कूट पर्वतमा ठहर्नु भको थ्यो । उता मगध नरेश अजात शत्रुले भने बज्जीहरुमाथि आक्रमणको योजना बुनिरहेका थिए । त्यो योजनामा बुद्धको राय, सुझाव लिएर मात्रै चढाई गर्ने सोच नरेशले बनाए । यस प्रयोजनको निम्ति नरेशले आफ्ना प्रधानमन्त्री वर्षाकारलाई बोलाएर भने – वर्षाकार ! “तिमि भगवान बुद्ध कहाँ जाऊ र वहाँलाई मेरो तर्फबाट नमन गर्नु र वहाँको कुशल क्षेम सोधी सके पछि भगवानलाई मगध नरेश बज्जीहरु माथि आक्रमण गर्ने सोंचमा हुनुहुन्छ, तपाईको के राय छ ? भनेर सोध्नु, उनले जे भन्छन् त्यसलाई ध्यान पुर्वक सुन्नु र आएर मलाई जस्ताको तस्तै फेहरिस्त सुनाउनु । ”
वर्षाकार बुद्ध कहाँ गए र उनलाई नमन गरेपछि राजाको संदेश सुनाए । बगलामा बसेका आनन्दलाई बुद्धले बज्जीहरुलाई आफुले दिएको उपदेशको संझना गर्दै सोधे –
१) आनन्द ! मैले बज्जीहरुलाई उ बेला सम्झाको थिएँ कि तिमीहरु बेला मौकामा बैठक बस । विना दाउपेंच, विना दवाव खुला खुलस्त छलफल गर । सामुहिक निर्णय लेऊ र कार्यन्वयन गर । आनन्द ! के तिनीहरु यसको अनुशरण गरी रहेका छन् ? आनन्दले प्रत्युत्तरमा भने, हो, भगवान मलाई सूचना छ कि हजुरको उपदेश उनीहरु आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन् ।
२) आनन्द ! मैले बज्जीहरुलाई सल्लाह दिएको थिएँ कि, कुनै पनि युवतीलाई जोर जवरजस्ती कुलवधु बनाउने काम नगर्नु र महिलाहरुको सम्मान गर्नु । के बज्जीहरुले यसको उल्लङ्घन त गरेका छैनन् ? आनन्दले विन्ती बिसाए, – “हो, भगवान मलाई सूचना छ कि हजुरको उपदेश उनीहरु आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन् ।”
३) आनन्द ! मैले बज्जीहरुलाई सम्झाको थिएँ, पाका, वरिष्ट र जेष्ठहरुको आदर सम्मान र मानमनितो राख्नु, उनीहरुका आवश्यकता वारे ख्याल राखी राख्नु ताकि उनमस असन्तुष्टी न आक्रोश के कतै यसमा तल वितल भको त छैन ? आनन्दले प्रत्युत्तरमा भने, – “हो, भगवान मलाई सूचना छ कि, हजुरको उपदेश उनीहरु आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन् ।”
४) आनन्द ! मैले बज्जीहरुलाई सम्झाको थिएँ कि, राज्यमा भ्रमण गर्ने सन्त सन्यासीहरुको खातिरदारी गर्नु ताकि, उनीहरु आकर्षित भई रहुन । तिनीहरु समाजमा नैतिक आधार बलियो बनाउने श्रोत हुन । के बज्जीहरु यो काम गरी रहेका छन् ? आनन्दले प्रत्युत्तरमा भने, – “भगवानले उनीहरुलाई जस्तो उपदेश भको थिया,े त्यो आजसम्म जस्ताको तस्तै तामिल भको मलाई सूचना छ ।”
५) आनन्द ! मैले बज्जिहरुलाई सम्झाको थिएँ, तिमीहरुले लोक धर्मको अनुशरण गरी रहनु । के बज्जीहरु यो काम आज पनि गरी रहेका छन् ? आनन्दले प्रत्युत्तरमा भने, – “भगवानबाट उनीहरुलाई जस्तो उपदेश भको थियो, त्यो आजसम्म जस्ताको तस्तै तामिल भको मलाई सूचना छ ।”
अनि भने बुद्धले वर्षाकारलाई भने, – “त्यसो हो भने बज्जीहरुको अग्रगमनमा कसैले भाँजो हाल्न सक्दैन, तिनको विरुद्धमा कसैले लछार पछार लाउन सक्दैनन् ।”
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५