काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रिएटसले पहिलो जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले हराएको हो । ललितपुरले दिएको १४४ रनको चुनौति पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन मात्रै बनाएपछि ललितपुर विजयी भएको हो ।
चितवनका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४१ रन बनाए भने कप्तान पृथु बास्कोटाले २६ रन, भिम सार्कीले २१ रन बनाएका थिए । त्यस्तै, जर्ज स्कटले अविजित १८ रन बनाएका थिए ।
बलिङतर्फ सन्दीप लामिछानेले २६ रन खर्चिएर ३ विकेट लिए भने सन्नी पटेलले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनाएको थियो ।
ललितपुरका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ८ बलमा २५ रन बनाए भने सोनु तामाङले अविजित ३५ रन, गौरभ टोमरले ३०, जयकिसन कोल्सवालाले २० र सुन्नी पटेलले १९ रनको योगदान दिएका थिए । बलिङतर्फ चितवनका जर्ज स्कटले २ विकेट लिएका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५