काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
गएराति भएको खेलमा सिटी लण्डन क्लब चेल्सीसँग २–० ले पराजित भएको हो । चेल्सीको जितमा एंगोलो कान्टे र डेभिड लुइजले एक एक गोल गरे । दुवै गोलका लागि इडेन हाजार्डले पास उपलब्ध गराएका थिए ।
यो सँगै सिटीको २१ खेलको अपराजित यात्रा सकिएको छ । खेलको पहिलो हाफमा पाएका केही राम्रा अवसर सिटीले सदुपयोग गर्न सकेन । चेल्सीका गोलकिपर केपा अरिजाबालागा र डिफेन्डरले सिटीका प्रहार बचाएका थिए ।
चेल्सीले पहिलो हाफको ४५ औं मिनेटमा अग्रता बनायो । घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा ४५ औं मिनेटमा इडिन हाजार्डको क्रसमा कान्टेले गोल गरे ।
दोस्रो हाफमा सिटीमाथि चेल्सी हाबी भयो । ७८ औं मिनेटमा इडिन हाजार्डले प्रहार गरेको कर्नरमा डेविड लुइजले हेड गोल गर्दै चेल्सीलाई महत्वपूर्ण ३ अंक दिलाए ।
पराजयसँगै सिटी लिगको दोस्रो स्थानमा झरेको छ । उसको ४१ अंक छ । गएराति नै भएको अर्को खेलमा बर्नमाउथमाथि ४–० को जित निकालेको लिभरपुर ४२ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै टोटनह्याम तेस्रो र चेल्सी चौथो स्थानमा रहँदा आर्सनल पाँचौं र म्यान्चेस्टर युनाइटेड छैठौं स्थानमा छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५