भरतराज अधिकारी, काठमाडाैं । विगत एक दशकदेखि मलेशियाको सेलाङ्गोर राज्यमा पर्ने सुबाङ जयास्थित ओम योगाशालामा योगगुरुका रुपमा क्रियाशील छन्– हेम न्यौपाने । नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत अछाम जिल्लाको बाटुलासैनका हेम वैदेशिक रोजगारीको सिलसिलामा सन् २००८ मा मलेशिया पुगेका थिए ।
विदेशमा जस्तोसुकै पनि श्रम गर्नुपर्ने कठिनाइलाई चिर्दै हेमले आफूसँग भएको सीपलाई मलेशियामा प्रयोगमा ल्याएका छन् । विदेशमा पुगेर पनि आफ्नो रोजाइको सीप प्रदर्शन गर्न पाउँदा उनी सन्तुष्ट देखिन्छन् । तर सधैं विदेशमै सेवा गर्न नसकिने भएकाले अब छिट्टै नेपालमा योगशाला खोलेर सेवा दिने तयारीमा रहेको उनले बताए ।

नेपालमा गएर योगा सिकाउनेबारे के सोच्नुभएको छ भन्ने जिज्ञासामा उनी भन्छन्, ‘आफ्नो देशमा सिकाउन पाउनु त गर्वको कुरो हो । अब केही समयमै यसबारे तयारी थाल्नेछु ।’
ओम योगाशालामा योगा सिकाउने एक्ला नेपाली गुरु हुन्– हेम । त्यसो त मलेशियामै उनीबाहेक अन्य एकदुई जनामात्र नेपाली योगगुरु भएको उनले जानकारी दिए ।

नेपालमा सिकाइनेभन्दा मलेशियामा उनले सिकाउने योगासनमा निकै फरक रहेको पनि उनले बताए । उनका अनुसार यहाँ सिकाइने केही फरक आसनहरुमा स्ट्रेचिङ, ब्यालेन्सिङ, बेन्डिङ, इन्भर्सन, हिलिङ, टोनिङ आदि रहेका छन् । उनको योगाशालामा नियमित रुपमा हाथा योगा, सूर्य नमस्कार, आनन्द योगा, योगा थेरापी, जेन्टल योगा आदि विषयहरु समावेश गरिन्छन् ।

योगाशालामा हरेक दिन विहान ७ देखि मध्यान्ह १२ बजेसम्म र बेलुकी ६ बजेदेखि राति साढे ८ बजेसम्म योगाका कक्षाहरुमा उनी व्यस्त रहन्छन् । यसरी व्यस्त रहँदा शारीरिक स्फूर्ति र आध्यात्मिक भाव बढ्ने हुँदा आफ्नो कर्मप्रति निकै उत्साहित भएको उनी बताउँछन् ।




प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५