काठमाडौं । नेपाल सरकार र मलेसियन सरकारबीच आगामी कात्तिक १२ गते श्रम सम्झौता हुने भएको छ । श्रम सम्झौताका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन काठमाडौं आउने कार्यक्रम तय भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।
यसपटक हुन लागेको श्रम सम्झौतामा मलेसिया जाने कामदारबाट नेपालका म्यानपावर कम्पनीहरुले कामदारको एक महिनाको तलबको आधा रकम मात्र सेवा शुल्क लिन पाउने व्यवस्था हुने जनाइएको छ । तर, म्यानपावर व्यवसायीहरुले भने कामदारको एक महिनाको तलब सेवा शुल्कका रुपमा उठाउन पाउनुपर्ने माग राख्दै आएका थिए ।
पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियासहित खाडी मुलुकहरुमा जाने कामदारहरुसँग १० हजार रुपैयाँ मात्र उठाउन पाउने नयाँ नियम लगाइदिएपछि म्यानपावर व्यवसायीहरु त्यत्तिले नपुग्ने भन्दै आन्दोलन समेत गरेका थिए ।
यस्तै, नयाँ हुने सम्झौतामा जिएसजी र स्वास्थ्य परीक्षणको शुल्क कामदार आफैंले तिर्नुपर्ने तर ओएससी र भिएलनको रकम साथै कामदारको टिकट रोजगारदाता कम्पनीले तिरीदिने व्यवस्था हुनेछ ।
प्रकाशित मिति: शनिबार, असोज २७, २०७५