तत्कालीन नेकपा (एमाले) भित्र जनताको बहुदलीय जनवादी कार्यक्रमका पक्षमा दृढ रहेको दाबीसहित आफ्ना लेख रचनामार्फत बेलाबखत चर्चामा आइरहन्छन्– दयालबहादुर शाही । एकीकृत पार्टीको निर्माणपछि पनि जबजको औचित्यता थप बढ्दै गएको बताउने शाहीले पार्टी स्थायी समिति सदस्य घनश्याम भुसालले अघि सार्दै आएका विचारहरुमाथि आलोचना जारी राखेका छन् । खासगरि उनले हालै प्रकाशन गरेको ‘मदनको चिन्तन र भुसालको विचलन’ पुस्तक, एकीकृत पार्टीले समात्नुपर्ने वैचारिक पक्ष र केही समसामयिक विषयमा केन्द्रित रहेर आजको न्यूज डट कम प्रतिनिधिले गरेको संक्षिप्त संवाद :
‘मदनको चिन्तन र भुसालको विचलन’ पुस्तक प्रकाशनको पृष्ठभूमि के हो ?
– एउटा पार्टी वा परिवार विधिसम्मत चल्नुपर्छ । सामान्य एउटा परिवार सञ्चालनमै पनि परिवारको मूली हुँ भन्दैमा असारमा खेतमा भाङ रोप्नु उपयुक्त हुदैन । चराले उडेर पहाड नाघ्न सक्छ तर पहाड फोड्न सक्दैन । घनश्यामजीको अध्ययनमा कुनै शंका छैन । म स्वयम् पनि उहाँको अध्ययन, त्याग र संघर्षबाट प्रभावित छु तर जबजको म्याद सकियो भन्ने उहाँको जुन घोषणा छ, त्यो गलत छ । सामान्य रुपमा भन्दा मदन भण्डारीलाई दालभात पकाएको घरमूली मान्ने हो भने त्यसमाथि भुसाल र शंकर पोखरेलले केही मात्रामा भएपनि घ्यू, तेल र मसला थप्नु भएकै हो । तर मेरो ब्राण्डको मसला मैले फिर्ता लगेँ भन्ने बहानामा दाललाई खारेज गर्न पाइदैन । यथार्थमा दलाल पूँजिवादका सन्दर्भमा सबैभन्दा धेरै घन्किएको कण्ठ मदन भण्डारीकै हो । उनको शेषपछि यसबारे बोल्ने घनश्यामजी नै हुनुहुन्छ । तर समस्या कहाँनेर हो भने दलाल पूँजिवाद विरुद्धको संघर्षमा मदन भण्डारी जबजलाई वैचारिक हतियार मान्नुहुन्थ्यो भने भुसाल त्यसलाई बाधक र सन्दर्भ सकिएको घोषणा गर्नुहुन्छ । यो पुस्तकको मुख्य पृष्ठभूमि यही हो । अध्ययनको परम्परा नभएका हाम्रै पार्टीभित्रका केही व्यक्तिहरुको समस्या के छ भने जबजलाई स्वीकार गर्छन् तर घनश्यामजीको विद्वता र वाक्पटुताका अगाडि हायलकायल हुने गर्छन् । तिनै दबिएकाहरुको आवाज यस पुस्तकमा उतारिएको छ ।
प्रष्ट बताइदिनुस्, माओवादीसँगको एकतापछि पनि जबजको उपादेयता कसरी बाँकी छ ?
– यो प्रश्न तपाईले खासगरि जबजको च्याप्टर क्लोज भयो भन्ने पक्षलाई सोध्नुपर्ने हो । जबजलाई सिद्धान्त मान्ने कि नमान्ने भन्दा उहाँहरु मान्ने नै भन्नुहुन्छ तर उहाँहरु आफ्ना आलोचकहरुको भीडको सामुन्नेमा पर्न नचाहने भएकाले बाध्यतावश यो भनिरहनुभएको छ । यस सन्दर्भमा मेरो बुझाइ के हो भने सिद्धान्त र फाटेको गञ्जीमा अन्तर हुन्छ । गञ्जी दिनप्रतिदिन फाट्दै जान सक्छ तर सिद्धान्त सदाबहार हुन्छ । यसकारण हामीले कि त जबजलाई सिद्धान्त मान्नु हुदैनथ्यो, मानिसकेपछि यसको उपादेयता बाँकी मात्र होइन समाजवादको संक्रमणसम्म जबज रहन्छ भन्ने कुरा स्वीकार गर्न सक्नुपर्छ । यहाँ कि त जबज पढ्दै नपढ्ने छन्, कि त अलिकति अध्ययनशीलताको फेटा गुथेकाहरु पनि गहिराइमै नपुगी आलोचनामा उत्रिएका देखिन्छन् । मुलुकबाट राजा हराए, सेना भएको कम्युनिष्ट पार्टी रुपान्तरण भयो, इतिहास भएको काँग्रेस थला पर्यो तर तत्कालीन नेकपा (एमाले) कसैसँग मिल्दा होस् वा चिल्दा होस्, अग्र मोर्चामै रह्यो । यसको मूल आधार विचार र विधि नैं थियो ।
तर तत्कालीन एमालेको आठौं महाधिवेशनमा भुसालले प्रस्ताव गरेको दस्तावेज नवौं महाधिवेशनमा पार्टीको आधिकारिक दस्तावेज बनिसकेपछि पार्टीको प्राविधिक नेतृत्व मात्रै ओलीले गरिरहेको र वैचारिक नेतृत्व भुसालकै रहेको भनिन्छ नि !
– यसलाई मैले माथि नैं भनेजस्तै भुसालले दालमा केवल जीरामसला मात्रै थप्नुभएको हो । तर जीरा थपेर दाल नैं खारेज गर्नुहोला भनेर हामीले कल्पना गरेका थिएनौं । सँगसँगै जुन दिन एमालेको नेतृत्वमा झलनाथ खनाल आउनुभयो, त्यो वास्तवमा पशुपतिको पुजारी क्रिश्चियन भएजस्तै थियो । क्रिश्चियन पुजारी भएपछि मन्दिरमा गाईको मासु पुग्नु कुनै आश्चर्यको कुरा हो र ?
तपाईले घनश्याम भुसालको विरोध गरिरहेकै कारण पार्टी संस्थापनले प्रोटेक्सन बढाइरहेको र यसवापत तपाईलाई आर्थिक सहयोग प्राप्त भइरहेको आरोप लगाउनेहरु पनि छन्, खास कुरा के हो ?
– लाभ र हानीका आधारमा राजनीति गर्ने मेरो स्वभाव हुँदो हो त जब म २०५८ सालको जिल्ला पार्टी सचिव थिएँ त्यतिबेला नैं तत्कालीन संस्थापनको चुलोमा आफ्ना निम्ति रोटी सेक्न जान्थेँ होला नि । वास्तवमा यस्तो कुरा जसले अवसर र स्वार्थका निम्ति प्रवृतिमा फेरबदल गरिरहन्छन् तिनीहरुले लगाइरहेका होलान् । घनश्याम भुसालको व्यक्तिगत रुपमा मजति प्रशंसक सायद अरु कोही नहोला । तर विचारका आधारमा एउटा पक्षको निरन्तर पैरवी गरिरहँदा कहिल्यै पनि अवसर र पदका लागि नलागेको मेरो खुला किताबजस्तै जीवनले पनि पुष्टि गर्छ । हिजो कमजोर रहेका ओली र अहिले अलपत्र रहेको जबजको पक्षमा उभिनु भनेको आफै सकिन तयार हुनु हो । यसरी जोखिम उठाउन तयार हुने व्यक्ति र विचारको लडाईलाई लेनदेनसँग जोड्नु खेदपूर्ण कुरा हो ।
एकीकृत पार्टीको केन्द्रीय कमिटिमा तपाईको नाम सिफारिश भएर पनि अन्तमा हटाइयो भन्ने सुनिन्छ, किन रहेछ ?
– यसमा बाहिरी रुपमा बहाना भीम रावललाई बनाइए पनि समस्या शीर्ष नेतात्रयमै छ । उहाँहरुले हतियारधारीहरुको व्यवस्थापन गर्नुभयो तर कलम र विचारको व्यवस्थापन गर्न ह्याउ, हुती र चौडा छाती देखाउनुभएन । यहाँ तरबारभन्दा कलम भारी सावित भएको देखिन्छ ।
तपाईका केही अनुमानहरु मिल्ने पनि गरेका छन्, एकीकृत कम्युनिष्ट पार्टीभित्रको भावी आन्तरिक समीकरण कसरी अघि बढ्ने देख्नुहुन्छ ?
– अबको नेता जबजप्रतिको हेराइ र बुझाइमा निर्भर हुनेछ । विचार हेर्दा निर्जिवजस्तो देखिने भएपनि यसमा खरानीलाई सुन र सुनलाई खरानी बनाउने सामर्थ्य हुन्छ । यहाँ केहीलाई भ्रम छ र विचारको प्रणेता जीवित रहेको वा नरहेको भनेर जोखना हेरिदैछ । मार्क्स, बुद्ध र कबीर नरहनु र डाँकु जीवित रहनुमा अन्तर छ । मदन भण्डारी नरहेको भनेर कसैका लहडमा लतारिनेहरुलाई भोलिको नेकपामा हरिबिजोग हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५