अमेरिका । नेपाली–अमेरिकन विज्ञहरु को संस्था युएस नेपाल पोलिसी सेन्टर को तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक अमेरिकाको बोस्टन शहरमा सम्पन्न भएको छ ।
बोस्टनको हावर्ड विश्वविद्यालय मेडिकल स्कूलको सभाहलमा भएको सम्मेलनमा ६५ विज्ञहरुका साथ दर्जनौं स्थानीयको उपस्थिति रहेको थियो ।
नेपालको लागि र अमेरिकामा रहेका नेपालीका लागि सम्बन्धित सरकार र सरोकारवाला निकायहरुलाई विभिन्न नीतिगत विषयमा नेपाली विज्ञहरुबाट सामूहिक र संस्थागत सहयोग र सुझाव दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेपाल र अमेरिकाका १७ राज्यबाट २४ जना विज्ञहरुद्वारा विषयगत प्रस्तुतिकरण र सवाल जवाफ भएको थियो ।
नेपालको समावेशी विकासमा मानवीय स्रोत विकासलाई कसरी संस्थागत गर्ने भन्ने केन्द्रीय विषय रहेको उक्त सम्मेलनको संयोजन युएसएनपीआरसीका सदस्य तथा हावर्ड विश्वविद्यालयका वैज्ञानिक दीनबन्धु भट्टले गरेका हुन् ।
सम्मेलनमा युएस नेपाल पोलिसी रिसर्च सेन्टरको बोर्ड बैठक बसी आगामी वर्ष चौथो सम्मेलन २०१९ को मे अन्तिम साता सानफ्रान्सिस्कोमा आयोजना गर्ने र सन् २०१९ को सुरुतिर काठमाण्डौमा नेपालमा नयाँ संस्थागत संरचना अवसर कि संकट विषयमा अन्तर्राष्ट्रिय सेमिनार आयोजन गर्ने निर्णय गरिएको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५